Logo
Logo

‘धेरै केटीहरुसँग डेटिङ गर्ने केटा मलाई मन पर्दैन’



काठमाडौं । करिब १२ वर्षअघि फिल्म ‘दुलही रानी’मार्फत अभिनेत्रीमा डेब्यू गरेकी हुन् सविना कार्कीले । त्यसपछि उनी अभिनित फिल्म ‘एटिएम’ विवादका कारण प्रदर्शन भएन । ‘एटिएम’मा सविनाले अन्य दुई नायिकासँगै अभिनय गरेकी थिइन् । भद्दा दृश्य र अश्लील संवादका कारण ‘एटिएम’लाई सेन्सर बोर्डले प्रदर्शन गर्न दिएन । फिल्म प्रदर्शन नभए पनि सविना उक्त फिल्मबाट स्थापित भइन् । त्यसपछि ‘द फेमस’, ‘छल’, ‘बाचा’, ‘वान साइड लभ’, ‘लाटी’, ‘गुड फ्रेन्डस्’, ‘सरप्राइज’, ‘गोल’जस्ता फिल्ममा अभिनय गरेकी सविनाले दुई सयभन्दा बढी भिडियोमा मोडलिङ गरेकी छन् । फिल्ममा हट दृश्य दिएर चर्चामा आए पनि सविना वास्तविक जीवनमा आफू सोझी भएको बताउँछिन् । कलाकारितामा लागेर विभिन्न सम्मान तथा अवार्डसमेत पाइसकेकी अभिनेत्री तथा मोडल सविना कार्कीसँग दृष्टिको जम्काभेट:

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियोहरुमा काम गरिरहेकी छु । केही चलचित्रहरु पनि एग्रिमेन्ट भएका छन्, अब छिट्टै छायाङ्कनमा जाने तयारीमा छ ।

अभिनय क्षेत्रमा टिकिरहन कत्तिको संघर्ष गर्नु परिरहेको छ ?
यो क्षेत्र अचम्मकै रहेछ । स्थापित हुन निकै पापड बेल्नुपर्ने रहेछ । नयाँ नायिकाहरुसँग फाइदा लुट्न खोज्नेहरुको संख्या यो क्षेत्रमा उत्तिकै छन् । तर, प्रतिभा भएर पनि यो क्षेत्रमा टिकिरहन निकै उतारचढाव भोग्नुपर्नेरहेछ । समयअनुसार बदलिएर आफ्नो कर्मलाई जीवन्त बनाउन सिकेको छु, जस्तो लाग्छ ।

करिअरका लागि अरु क्षेत्र पनि छन्, किन यही क्षेत्र रोज्नुभयो ?
अवश्य नै अरु क्षेत्र रोजेको भए जिन्दगीले नयाँ मोड पनि लिन्थ्यो होला । घर, गाडी, धन, सम्पत्ति अकूत कमाइन्थ्यो होला । मैले त्यो सोचिनँ । म आर्मी बनेर देशको सेवा गर्ने सोचमा थिएँ । तर, चलचित्रमा अभिनय गर्ने मेरो रहर ठूलो थियो । त्यही रहर, बाध्यतामा परिणत भयो । मलाई गुनासोचाहिँ छैन । मैले गरेको कर्मले मलाई लोकप्रियता दिएको छ । म मरेर जाँदा पनि मेरो काम अमर रहने छ ।

चलचित्र क्षेत्रमा निर्माता/निर्देशकसँग नजिक भएर समय बिताउनेहरुले नै अवसर पाउँछन् भन्छन् नि ?
पछिल्लो समय पनि त्यो अवस्था छ । त्यो हिजो पनि थियो । मैले त्यो दिन प्रत्यक्ष भोगेको छु । नजिकबाट देखेको छु । कलाकारितामा हुँदा पनि विभिन्न स्वार्थ बोकेर अवसर देखाउनेहरु यो क्षेत्रमा अझै हाबी छन् ।

तपाईँलाई चिनाउने चलचित्र ‘एटिएम’ बन्यो होइन त ?
‘एटिएम’ चलचित्रमा मैले दृश्यमा अश्लिलता प्रस्तुत गरेको होइन, हल्का संवाद भने अश्लील थियो । फिल्ममा अन्य नायिकाहरुले दिएको अश्लील दृश्यका कारण म चर्चामा आएँ । वास्तवमा त्यो चलचित्र विवादै विवादमा प्रदर्शन भएन । म चलचित्रको कथाले मागेअनुसारको दृश्य दिनुपर्छ, अभिनय गर्नुपर्छ भन्नेमा हो । निर्देशक र निर्माताले मागेजस्तो दृश्य दिने नायिका होइन । त्यो चलचित्रभन्दा पहिल्यै म्युजिक भिडियोमा म स्थापित भइसकेको थिएँ । ‘एटिएम’ संयोग मात्र बन्यो ।

वास्तवमा जीवन के रहेछ ?
जीवन एउटा नाटक गर्ने रंगमञ्च रहेछ । जहाँ पात्रहरु, कथाहरु फरक–फरक तरिकाले फेरिरहन्छन् । अभिनय पनि समयअनुसार, कथाअनुसार गर्दै अगाडि बढ्नुपर्ने रहेछ । आउने, जाने, बदलिने पात्रहरु धेरै हुन्छन् । जीवनमा समाज, समय र संस्कारभित्र आफूलाई समाहित गर्दै अभिनयको पाटो सम्मालिरहेको छु जस्तो लाग्छ ।

कहिलेसम्म अभिनय गरिरहने सोच छ ?
मेरो नशा–नशामा कलाकारिता छ । म सधैँ चलचित्र, म्युजिक उद्योगमा आफ्नो कलाकारिता पस्किरहने छु ।

प्रसंग बदलौं, सेक्स र चुम्बनलाई कसरी लिनुहुन्छ ?
सेक्स प्राकृतिक कुरा हो । त्यसलाई कसरी, कहाँ प्रस्तुत गर्ने भन्ने हो । उमेर पुगेका हरेक जीवित प्राणीलाई आवश्यक पर्ने एउटा प्राकृतिक कुरा हो । तर, चुम्बन भनेको अभिनयमा कहाँ, कसरी आवश्यक पर्छ त्यो हिसाबमा दिइने हो । कलाकार भएपछि यी दुवै दृश्यमा प्रस्तुत गर्नुपरेमा तयार छु । तर, वास्तविक जीवनमा प्रकृतिको नियमानुसार सामाजिक दायित्वलाई ख्याल गर्नेछु ।

कस्ता केटाहरु मनपर्छन् ?
सुगठित शरीर अनि हँसिलो अनुहार भएका केटाहरु मनपर्छ । स्मार्ट, मनको सफा, हेर्दा पनि ह्यान्डस, लामो कपाल भएको केटाले बढी आकर्षण गर्छ ।

अनि मन नपर्ने चाहिँ ?
धेरै केटीहरुसँग डेटिङ गर्दै हिँड्ने प्लेब्वाइ चरित्र भएका केटाहरु मन पर्दैनन् ।

नायिकाहरु झुटो बोल्न सिपालु हुन्छन् भनिन्छ नि ?
आफूलाई फाइदा हुने कुरा छ भने अलिअलि झुटो बोल्दा फरक पर्दैन ।

आफ्नो कुन अंग सेक्सी लाग्छ ?
मेरो आफ्नो ओठ सेक्सी र कामुक लाग्छ । केटाहरुले पनि मेरो ओठ सेक्सी छ भन्छन् । म ऐनामा आफ्नो ओठ २४ घण्टामा २५ पटक हेर्छु ।

आफ्नो नांगो शरीर हेर्दा कस्तो लाग्छ ?
मलाई मेरो फिगर खुबै सेक्सी लाग्छ । मैले शरीर त पाएको नै हो भनेर मख्ख पर्छु आफै।

पहिलो प्रेम याद छ ?
कक्षा ९ मा पढ्दा एउटा केटाले प्रस्ताव गरेको थियो । भ्यालेनटाइनमा मलाई चिठ्ठी पठाएको थियो । तर, मैले अस्वीकार गरिदिएँ । त्यसपछि हाम्रो बोलचाल नै बन्द भयो । यसपछि प्रेम भएन ।

नेपालमा कुन सेलीब्रेटीले आकर्षण गर्छ ?
मलाई नायक निखिल उप्रेती र जीवन लुइँटेलले खुबै आकर्षण गर्छन् ।

कुन सेलीब्रेटीसँग चुम्बन गर्न मन छ ?
साहिद कपुर, उसको ओठै साह्रै सेक्सी लाग्छ ।

प्रतिक्रिया दिनुहोस्