Logo
Logo

वसु रोटरी अवार्ड : दश लाखको पत्रकारिता पुरस्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ फागुन । उनी दिनुहँ पत्रपत्रिका पढ्छन् । खोजमूलक, अनुसन्धानमूलक समाचार उनलाई बढी मन पर्छ । नेपाली पत्रकारिताको स्तर पनि बढेकोले होला, हरेक दिन पत्रपत्रिका र अन्य सञ्चारमाध्यमले खोजमूलक समाचार ‘ब्रेक’ गर्छन् । पत्रकारिताको यो शैली उनलाई खुबै मन पर्छ ।

धन धेरै भएर होइन, मन ठूलो भएर उनले खोजी पत्रकारितामा अब्बल एक जना पत्रकारलाई १० लाख नगद रुपैयाँको पुरस्कार रोटरीमार्फत स्थापना गरेका छन् । बिना स्वार्थ जोखिम मोलेर पत्रकारिता पेशा गर्ने श्रमजीवीका लागि १० लाख ठूलो कुरा होइन, तर यो रकमले पत्रकारिता पेशामा संलग्न पत्रकारलाई प्रोत्साहित गर्न सक्छ ।

पत्रपत्रिका पढिसकेपछि उनी सोच्छन्– पत्रकारहरुले कति ‘रिक्स’ लिएर समाचार खोजे होलान् । ती पत्रकारहरुलाई कति धम्की आयो होला । तर पनि निडरताका साथ पत्रकारहरुले देश र समाजलाई दिनरात जगाइरहेका छन् । पत्रकारिताको धर्म नै निष्पक्ष समाचारबाट नागरिक समाजलाई सुसूचित गराउनु हो । जुन कुरा विश्वका अन्य देशका पत्रकारहरुले पनि गरिरहेका छन् । पत्रकारहरुको क्षमता वृद्धि भएकै कारण नेपाली सञ्चारमाध्यमको स्तर र विश्वनियता पनि बढेको छ ।

त्यसमाथि उनीलाई भ्रष्टाचारको समाचार खुबै रुचि लाग्छ । देशमा जनताले बलिदानी दिएर प्रजातन्त्र ल्याए पनि भ्रष्टाचारका कारण देशले आर्थिक विकास गर्न नसकेको उनको ठम्याई छ । त्यसैले मुलुकमा सुशासन स्थापना गर्ने काममा पनि पत्रकारहरुको अहं भूमिका छ । पत्रकारहरुको निरन्तर प्रहारपछि सरकार पनि ठूला ठूला काण्ड छानबिन गर्न र भ्रष्टाचारीहरुमाथि कारवाही गर्न बाध्य भएको धेरै उदाहरण छ । मिडियाको यस्तै खबरदारीले जनतामा चेतना जागेको छ । त्यसैले लोकतन्त्रको रक्षा र लोकतन्त्रको माध्यमबाट सिंगो नेपाली जनताको समृद्धिमा पनि पत्रकारिताले भूमिका खेल्नुपर्छ भन्ने सुझाव उनको छ ।

पत्रकारिताले पारेको यही छाप र प्रभावका कारण धन धेरै भएर होइन, मन ठूलो भएर उनले खोजी पत्रकारितामा अब्बल एक जना पत्रकारलाई १० लाख नगद रुपैयाँको पुरस्कार रोटरीमार्फत स्थापना गरेका छन् । हरेक दुई दुई वर्षमा देश र समाजमा अब्बल काम गरेका व्यक्तिलाई प्रोत्साहन गर्न उनले यति ठूलो रकमको पुरस्कार स्थापना गरेका हुन् । उनको इच्छा छ, बिना स्वार्थ जोखिम मोलेर पत्रकारिता पेशा गर्ने श्रमजीवीका लागि १० लाख ठूलो कुरा होइन, तर यो रकमले पत्रकारिता पेशामा संलग्न पत्रकारलाई प्रोत्साहित गर्न सक्छ ।

यो सोचले गर्दा नै उनी अर्थात् सुरेन्द्र गोविन्द जोशीले यति ठूलो रकमको पुरस्कार स्थापना गरे । पेशाले इञ्जिीनियर उनले हवाई विभागमा दश वर्ष सरकारी सेवामा बिताए । त्यसपछि विश्व बैंकको जागिर थालेका उनले विश्व बैंकबाट आउने पेन्सनबाट देश र समाजका लागि केही गरुँ भन्ने सोच बनाए । रोटरी क्लब अफ पाटन यलका चार्टर सदस्य जोशी २३ वर्ष अगाडि रोटरी क्लबमा आबद्ध भएका थिए । रोटरी क्लबको वातावरणले उनलाई समाजसेवा गर्न थप ऊर्जा प्रदान ग¥यो । रोटरी क्लब अफ यल ‘ज्वाइन’ गरेपछि उनले पाटनका स–साना व्यवसायीलाई प्रोत्साहन गर्न ‘बसु रोटरी भोकेशनल अवार्ड’ स्थापना गरे । केही रकम भए पनि साना उद्यमीलाई बाँडे । यसले रोटरीको ‘इमेज’लाई समाजका विभिन्न पेशा, व्यवसायमा स्थापित गर्न मद्दत ग¥यो । अहिले त्यही ‘बसु रोटरी भोकेशनल अवार्ड’लाई विस्तार गरेर हरेक दुई÷दुई वर्षमा दश लाख रुपैयाँ दिने निर्णयमा उनी पुगे ।

‘वसु’ अर्थात् उनको श्रीमतीको नाम बद्रीलक्ष्मी जोशी हो । श्रीमती र आफ्नो नाम जोडेर उनले यो पुरस्कार स्थापना गरेका हुन् । उनका एक छोरा विकल गोविन्द जोशी पेशाले चार्टट एकाउन्टेन हुन् । तीन छोरीमध्ये डा. स्मिता जोशी नेपाल मेडिकल कलेजमा कार्यरत छिन् । श्रेया जोशी सिंगापुरमा जागिरे छिन् र सिरपा जोशी लण्डनमा एमबीए पढ्दैछिन् । रोटरीले परिवारको खुशीलाई पनि महत्व दिएको छ । त्यसैले परिवारका सबै सदस्यहरुको सहमतिमा उनी समाजसेवाको अभियानमा लागेका हुन् ।

पुरस्कारबारे उनी भन्छन्– पत्रकारिता नै यस्तो पेशा हो, जसले समाजमा भएका विकृति र विसंगतिलाई उजागर गर्छ । जनतालाई थाहै नभएको कुरा खोतलेर ल्याउँछ र जनताबीच राख्छ । जनताको चेतनाको स्रोत पत्रकारिता पेशा पनि भएकाले श्रमजीवी पत्रकारको सम्मान गर्न उनले यो प्रयास थालेको बताए । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकोले पनि पत्रकारहरुको क्षमता र आँट दुवै बढेको छ । उनलाई लाग्छ, देशमा सुशासन कायम गर्न स्वतन्त्र पत्रकारहरुको ठूलो भूमिका छ । पत्रकारिताको प्रभाव पनि बढ्दै गएको छ । शक्तिशाली व्यक्तिबाट हुने पदीय दुरुपयोग र ठूला ठूला काण्डहरु पत्रकारहरुले बाहिर नल्याई दिने हो भने देश भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुब्छ । देशलाई भ्रष्टाचारबाट जोगाउन पनि पत्रकारिता पेशालाई हरेक नागरिकले सम्मान गर्नुपर्ने जोशीको भनाइ छ ।

सार्क पुरस्कारको घोषणा

रोटरी डिष्ट्रिक ३२९२ ले ‘गोपाल–कमला राजभण्डारी ह्युम्यानिटी अवार्ड’ घोषणा गरेको छ । पन्ध्र हजार अमेरिकी डलरको उक्त पुरस्कार सार्क मुलुक नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भूटानमा शिक्षा तथा साक्षरता अभियानमा योगदान पु¥याएका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

रोटरी क्लबले गत साता काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त सार्क अवार्डको घोषणा गरेको हो । गभर्नर किरणलाल श्रेष्ठका अनुसार सार्क मुलुकका विभिन्न देशबाट रोटरीले तोकेको मापदण्डअनुसार शिक्षा र साक्षरता अभियानमा उत्कृष्ट सेवा गरेका एक जना व्यक्तिलाई आगामी मे १६ तारिखका दिन राष्ट्रपतिबाट उक्त अवार्ड प्रदान गरिने भएको छ ।

उक्त अवार्डका लागि सातै वटा सार्क मुलुकका व्यक्ति वा संस्था सहभागी हुन सक्नेछन् । त्यसका लागि रोटरीको ‘अनलाइन’ फारम भर्नुपर्ने छ । हरेक देशबाट प्राप्त आवेदनमध्ये हरेक देशले तीन, तीन जनाको नाम छनोट गरेर पठाउनुपर्ने छ । ती नामहरुमध्येबाट पनि सर्वोत्कृष्ट सेवा गर्ने एक जनालाई उक्त पुरस्कारबाट सम्मान गरिनेछ । उक्त सार्कस्तरीय पुरस्कार पहिलोपटक काठमाडौँमा वितरण गरिने भएको छ भने क्रमशः सार्कका अन्य देशहरुबाट पनि उक्त पुरस्कारबाट सम्मान गर्ने योजना रहेको छ ।

मर्कन्टाइल ग्रुपका संस्थापक गोपालराज राजभण्डारी रोटरीका प्रवद्र्धकमध्ये एक हुन् । उनले रोटरीमार्फत आफ्नो जीवनमा धेरै समाजसेवा गरेका छन् । उनका नाममा उनका छोरा दीपक, राजीव र संजीव राजभण्डारीले उक्त पुरस्कार स्थापना गरेका हुन् । सन् २०१० मा गोपाल कमला राजभण्डारी पुरस्कार स्थापना भएको हो । रोटरीमार्फत सार्कस्तरीय १५ हजार डलरको ‘गोपाल–कमला राजभण्डारी’ पुरस्कार स्थापना भएको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्