Logo
Logo

बिहेअघि बालिग प्रमाणपत्रको व्यवस्था गर्न माग गर्दै संसद्‍मा संकल्प प्रस्ताव दर्ता


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम ८० बमोजिम उनले बालविवाह रोकथामका लागि उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

समाजमा व्याप्त बालविवाहलाई नीतिगत तह मै निर्मूल पार्न सरकारसमक्ष सम्पूर्ण स्थानीय तहमा २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्रै विवाह गर्न पाउने व्यवस्था गर्न उक्त संकल्प प्रस्ताव दर्ता गरिएको हो । अब कार्य व्यवस्था समितिबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त संकल्प प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि सभामा छलफल हुनेछ ।

नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा बालबालिकाको विवाह गर्न नहुने भनेर स्पष्ट व्यवस्था गरिएको छ ।त्यसपछि जारी भएका मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ जस्ता ऐनहरूले पनि नीतिगत तहमै बालविवाहलाई अमान्य र अपराध मान्दा मान्दै पनि केही कमी आउन सकेको छैन।

बालविवाह जस्तो गम्भीर अपराधले उनीहरूको शारीरिक तथा मानसिक विकास रोकिनुका साथै गम्भीर हिंसाबाट प्रभावित हुने उनले उक्त संकल्प प्रस्तावमा दाबी गरेका छन् ।

जन्म दर्ता, नागरिकता र अन्य कागजात राज्यले दिए जस्तै विवाहपूर्व वडाबाट आफू २० वर्ष पूरा भएको बालिग दर्ता पत्र अनिवार्य लिनुपर्ने व्यवस्था गर्नुपर्ने उनको मत छ ।

प्रतिक्रिया दिनुहोस्