Logo
Logo

प्रहरी समायोजनमा ओली असन्तुष्ट



जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिज्ञले प्रहरी चलाएकाले धेरै बिग्रिएको बताएका छन् । प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने उनको धारणा छ ।

प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका वेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए ।

उनले भने, ‘पुलिस त छँदै छ, कसले चलाउने भन्ने कुरामा विवाद हो । राजनीतिज्ञले प्रहरी चलाएर धेरै बिग्रिएको छ । नेताहरूले प्रहरी आफ्नै अधीनमा हुनुपर्छ भन्नु गलत हो, सरकारको ध्यान जनतालाई सेवा दिने कुरामा हुनुपर्छ । प्रहरी कसले चलाउने भन्नेमा होइन ।’

मुख्यमन्त्रीहरूले प्रदेशमातहत प्रहरी नहुँदा शान्ति सुरक्षालगायतका काममा असर परेको भन्दै प्रदेशकै प्रभावकारितामाथि प्रश्न उठेको भन्दै निरन्तर संघ सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समायोजनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका वेला प्रमुख प्रतिपक्षी दलका नेताको यस्तो धारणा आएको हो ।

ओलीले मधेश प्रदेशकै राजधानीमा पुगेर आफूले प्रहरी चलाउन पाइनँ भनेर गुनासो गर्नु नाजायज रहेको बताएका हुन् । ‘आफ्नै मान्छे प्रहरी र कर्मचारीमा कोच्न पाउँ भन्नु गलत हो,’ उनले भने, ‘प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्