
काठमाडौं । प्रहरीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् ।
भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले पक्राउ परेका भण्डारीलाई आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।
भण्डारी पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापकसमेत हुन् । उनी पनि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्वरजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेका बेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।














