
काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका ११ गम्हरियामा सोमवार साँझ भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन् । उनको उपचारको क्रममा वीरगञ्जमा गएराति मत्यु भएको हो ।
गम्हरियास्थित चमेलिमाई मन्दिर नजिकै सोमवार साँझ उखु लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा सर्लाही नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरसहित ११ जना सवार गाडी ठोक्किदा दुर्घटना भएको थियो । मलङ्गवाबाट जन्तीको भोज खान मानन्धरसहित भाडाको गाडी बरहथवा तर्फ जाँदै गर्दा सोमवार साँझ करिब ८ः१५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा मानन्धरसहित वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर, रामबाबु राय लगायत ११ जना घाइते भएका छन् । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले जानकारी दिए ।














