Logo
Logo

परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


504
Shares

कपिलवस्तु । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको निरीक्षण गर्दै उनले कर्मचारीले गरेको कामले दिने परिणामका आधारमा मूल्याङ्कन हुने भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ ।’

व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने भन्दै उनले व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजरमा राख्न आग्रह गरे ।

आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन वस्तु कानुनीरुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’

उनले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो ? कति आय भयो भन्ने पत्ता लगाउन सकिने बताए । ‘होटल, रेस्टुराँजस्ता सेवा व्यवसायको सङ्ख्या बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ । उनीहरुलाई कर प्रणालीमा जोड्नुपर्छ,’ मन्त्री महतले भने ।

उनले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । ‘अनावश्यकरुपमा कसैलाई दुःख दिनु हुँदैन र आँखा चिम्लिनु पनि हुँदैन । जे गर्नुपर्ने हो त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्