Logo
Logo

रयालेको दलित बस्तीमा घरघरमै धारा


315
Shares

पर्वत । खानेपानीको समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थरडाँडाखर्कको रयालेको दलित बस्तीमा ‘एक घर एक धारा’मार्फत पानी वितरण गरिएको छ ।

आँगनमै धाराको पानी उपभोग गर्न पाएपछि यहाँका ३६ घरपरिवार हर्षित बनेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले रु ३२ लाख ३५ हजारको लगानीमा एक घर एक धारा विस्तार गरेको हो । गत सातादेखि सबै घरमा पानी वितरण गरेर उपभोग गर्न थालेको वडा नं १४ आर्थरडाँडाखर्कका वडाध्यक्ष रुद्रमोहन रिमालले बताए ।

जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय माया विकले घरमा चौबिसै घन्टा पानी आउँदा निकै खुसी लागेको बताए । खानेपानीकै लागि गरेको दुःख सघर्षका दिन सम्झिँदै उनले भने, ‘गाउँमा खानेपानी नहुँदा कुवाको पानी खान बाध्य थियौँ, बर्खामा हिलाम्मे र हिउँदमा सुक्खा हुन्थ्यो, त्यही समस्या सदिऔँदेखि भोग्दै आएका थियौँ, अहिले अन्त्य भएको छ ।’ उनले खानेपानीको समस्या समाधानका लागि पहल गर्नेप्रति धन्यवाद दिँदै पानीले जीवनमा नयाँ आयाम थपेको बताए ।

महिला स्वास्थ्य स्वयंसेविका रहेकी विकले दूषित र दुर्गन्धित पानीका कारण समुदायमा विभिन्न प्रकोपका रोग फैलिएको बताउँदै अब दूषित पानीका कारण कोही पनि रोगी हुनुपर्ने अवस्था नआउने बताए ।

पानी अभावले पिउनेमात्र होइन नुहाउने र लुगा धुने समस्या समाधान भएको स्थानीय धनबहादुर विकले बताए । ‘मानिस र पशुलाई पुग्दो पिउन थिएन, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैनथे, विवाहजस्ता काम गर्दा खोला धाउनुपर्ने अवस्था थियो’, विकले भने, ‘पानीको जोहो गर्न दैनिक घन्टौँ समय बिताउनु पर्दथ्यो, अहिले दिनचर्या नै फेरिएको छ ।’

घरघरमा शुद्ध खानेपानी पुगेपछि रयाले गाउँको सिङ्गो बस्ती अहिले निकै हर्षित बनेको हो । रयाले बस्तीमा ३६ घरधुरी छन् ।
आर्थर डाँडाखर्कवासीलाई स्वच्छ र गुणस्तरीय खानेपानी सहजरुपमा उपलब्ध गराउन आर्थिक वर्ष २०७४/७५ मा विस्तृत सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा दुई सय ९५ घरधुरीलाई खानेपानीको सेवा पु¥याउने उद्देश्य लिइएको थियो । रु छ करोड ५५ लाख ५९ हजार पाँच सय १४ लागत लागत अनुमान स्वीकृत गरी १३ बटा योजनामार्फत आर्थरवासीलाई शुद्ध खानेपानी पुर्याउन लागिएको खानेपानी कार्यालय बागलुङका शाखा अधिकृत टेकनारायण सुवेदीले जानकारी दिए ।

तेह्र योजनामध्ये यो दोस्रो योजनाकारुपमा रयालेडाँडा खानेपानी आयोजनाले ३६ घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराइएको हो । विसं २०७९ पुस १४ गते आर्थर खानेपानी उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङबीच रु ३२ लाख ३५ हजारको लागतमा योजना सम्झौता भएको सुवेदीले बताए ।

गाउँमा सम्झौता बमोजिम खानेपानी धारा निर्माण भएर धारामा पानी झरेपछि आर्थरवासीमा सहज भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्