काठमाडौं । आम जनता पार्टी (आजपा)ले जनयुद्ध र जनआन्दोलनलाई जनसङ्घर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेको छ ।
आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात् आज जारी विज्ञप्तिमा जनयुद्ध र जनआन्दोलनलाई जनसङ्घर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेकोको छ ।

जनयुद्ध र जनआन्दोलनलाई जनसङ्घर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढङ्गले अगाडि बढाउने निर्णय गरेको छ ।
बैङ्क, लघुवित्त तथा सहकारीको लुट विरुद्धको सङ्घर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको सङ्घर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतिहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
यसैगरी राज्यको हरेक निकाय एवं अङ्गमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई वैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरूलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई बिउँ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरूमा जारी सङ्घर्षहरूलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
१९ र २१ माघमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्वारा गरिएका विभिन्न कार्य एवं आन्दोलनको समीक्षा समेत गरिएको छ ।
भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैङ्क–लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय सङ्घर्षहरूले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदबाब बढाएको निष्कर्ष बैठकको छ ।
यसैगरी पछिल्लो स्थायी कमिटीको बैठक पछि सातै प्रदेश कमिटीहरूको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आइटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेस बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौंमा भ्रष्टाचार विरुद्धको मोटरसाइकल ¥यालीलगायतका कार्यक्रमहरूले पार्टी पङ्क्तिमा विशेष उत्साह एवं ऊर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ ।
पार्टी केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ । यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं, सङ्गठन निर्माण र विस्तारमा जोड गरौं’ भन्ने मूल नारा सहित सङ्गठन बिस्तार गर्ने निर्णय समेत गरेको छ ।














