Logo
Logo

भीआईपीको हिरासत छल्ने जुक्ती: पक्राउ पर्नसाथ बिरामी, रिहा हुनसाथ रोग चटै !


4.2k
Shares

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा गत बिहीबार उद्योगी अरुण चौधरीसहित तीनजना पक्राउ परे ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गर्याे ।   

पक्राउ गर्नसाथ उनीहरू एकाएक बिरामी भए । उनीहरूलाई प्रहरी थुनामा लगिएन । सिँधै  महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरियो । चिरायुमा सामान्य चेकजाँचपछि सुविधासम्पन्न अस्पताल ग्राण्डी अस्पताल लगियो । भिआइपी कक्ष (कोठा नम्बर ९१५) मा राखियो । 

पक्राउ परेपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथम पटक चार दिनको म्याद दियो । चार दिनको म्याद सकिएपछि सीआईबीले सोमबार पुनः म्याद थपका लागि उनीहरूलाई अदालतमा उपस्थित गरायो । 

तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरूलाई  हाजिर जमानीमा छाड्न आदेश दियो । अदालतको आदेशपछि उनीहरू तीनै जना आज (बुधबार) हिरा भए । यहाँ रोचक कुरा के छ भने पक्राउ पर्नसाथ बिरामी भएका उनीहरू रिहा हुनसाथ निको भए । रिहासँगै ‘डस्चार्ज’ पनि भए । 

यसअघि पनि विभिन्न प्रकरण र काण्डमा पक्राउ परेका ‘भीआईपी’हरूलाई हिरासत नराखी अस्पताल  लगिएको प्रशस्त उदाहरण छन् । अधिकांशलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिन्छ । तर, उनीहरू पक्राउ पर्नसाथ बिरामी हुन्छन् । र, अस्पतालमा भर्ना हुन्छन् । 

पक्राउ परेपछि सामान्य चेकजाँचको लागि प्रायः अस्पताल लाने गरिन्छ । तर, ‘हाइ प्रोफाइल’ले आफ्नै च्यानलमा सुविधासम्पन्न अस्पताल जाने गरेको पाइन्छ । र, स्वास्थ्य अवस्था सामान्य भएपनि उनीहरूलाई अस्पतालमै राखिन्छ । 

कुनै पनि अभियोगमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्न प्रहरीले तीनलाई हिरासत राख्नुपर्ने हुन्छ । स्वास्थ्यमा गम्भीर समस्या देखिए मात्र हिरासत अवधिमा अस्पताल भर्ना गरिन्छ ।

पक्राउपछि पूर्वसभामुख कृष्णबहादुर महरादेखि अभिनेता अनमोल केसीसम्म हिरासत छल्न अस्पताल बसेका छन् । गत असोज १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फौजदारी अभियोगमा अनमोललाई भक्तपुरको साँगाबाट पक्राउ गर्यो । 

पक्राउ पर्नुअघिसम्म उनको स्वास्थ्यमा कुनै समस्या थिएन । तर, पक्राउ परेलगत्तै बिरामी भएपछि उनलाई चिरायु अस्पताल लगियो । पक्राउ परेदेखि रिहा हुने दिनसम्म अभिनेता केसीले चिरायुको क्याबिनमै आराम गरे । अस्पतालले उनको हेरविचारका लागि सीमित डाक्टर खटाएको थियो । 

यस्तै, भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा गत १२ असारमा सिआइबीले पक्राउ गर्यो । त्यसलगत्तै स्वास्थ्य परीक्षणका लागि प्रहरीले उनलाई पनि चिरायु अस्पताल लग्यो ।

परीक्षणबाट उनको स्वास्थ्यमा कुनै समस्या देखिएन । तर, गुरुङले सोही दिन बिरामी भएको बताएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । चिरायु अस्पतालले सामान्य स्वास्थ्य अवस्था रहेको जनाएका गुरुङ अस्पतालमा ७५ दिन बिताएर घर फर्किए । त्यसबिच उनलाई एकदिन पनि हिरासत लगिएन ।

गुरुङ जिल्ला अदालत काठमाडौंको २४ भदौको आदेशअनुसार २ करोड ४६ लाख रुपैयाँ धरौटीमा अस्पतालबाटै रिहा भए । 
पूर्व सभामुख कृष्णबहादुर महारालाई पनि पक्राउ परेको केही दिनमा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए । त्यस्तै ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा पनि अस्पतालमै बसेका थिए ।

बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका थिए । उनलाई अस्पतालबाटै अदालत लगिएको थियो । 

२०७८ साल कात्तिकमा लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बसेका थिए । त्यसैगरी भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा वीर अस्पताल र नर्भिकमा बसेका थिए ।

राष्ट्रका उच्च पदस्थ भनिएका व्यक्तिहरूमाथि पक्राउ पर्नसाथ थुनामा जानुको साटो पैसा र शक्तिको आडमा अस्पताल जाने प्रवृत्ति बढ्दो छ । अधिकांश भिआइपी अस्पताल भर्ना हुँदा विकृति बढ्दै गएको छ ।

पक्राउ  गरिएका भिआइपीहरुलाई हिरासतमा नखारी अस्पतालमा राख्दा स्वधारणले आक्रोश व्यक्त गर्न थालेका छन् । सर्वसाधारणले यसलाई नाटकको संज्ञा दिएका छन् । 

सामाजिक सञ्जालमा मनोहरी कार्की लेख्छन्- ‘रामे–श्यामे’ पक्राउ पर्दा नदुख्ने, धनी पक्राउ पर्दा किन दुख्छ मुटु ? हिरासतबाट बच्न  प्रयोग गरिएको अर्को आपराधिक बाटो हो यो ।’

सामाजिक प्रयोगकर्ता वासुदेवि अधिकारी यसलाई ‘नाटक’ ठान्छन् । उनी भन्छन्- ‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको, धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप ।’

कमल पराजुली भने ठुलाबडाहरू पक्राउ पर्ने वित्तिकै अस्पताल भर्ना हुने फेसन नै बनेको बताउन् । उनले भनेका छन्- ‘ठुलाबडाहरू पक्राउ पर्ने बित्तिकै अस्पताल भर्ना हुने फेसनजस्तै भइसक्यो,’ कमल पराजुली लेख्छन्, ‘यही हो,गरिबलाई ऐन ठूलबडालाई ‘चेन’ भनेको ।’

प्रतिक्रिया दिनुहोस्