Logo
Logo

नेपालमा क्वात्राको अग्निपरीक्षा


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

सन्२०१५ देखि २०१७ सम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा ‘अफिसर अन स्पेशियल ड्युटी’ को रुपमा काम गरेका विनयमोहन क्वात्रा नेपालका लागि भारतीय राजदूत भएर आएका छन् । क्वात्राको कार्यक्षमताकै कारण उनीलाई प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयमा ल्याएका थिए । त्यहाँ रहँदा उनलाई प्रधानमन्त्री मोदीको विदेश भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा दिइएको थियो । यसै आधारमा क्वात्रालाई प्रधानमन्त्री मोदीसँग सोझो पहुँच भएको व्यक्ति मानिन्छ ।

त्यसो त सोही पदमा क्वात्राभन्दा पहिले जावेद असरफ कार्यरत थिए । उनी काठमाडौँस्थित भारतीय राजदूतावासमा इकोनोमिक काउन्सिलरको रुपमा काम गरिसकेका व्यक्ति हुन् । सन् १९१७ मा फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इम्म्यानुयल मार्कोन विजयी भएपछि प्रधानमन्त्री मोदीले क्वात्रालाई फ्रान्समा भारतको राजदूत बनाएर पठाएका थिए । कूटनीतिमा क्वात्राको विशेष कार्यक्षमता देखेर नै प्रधानमन्त्री मोदीले उनलाई पेरिसबाट सोझै काठमाडौँ पठाएको विश्लेषण गरिएको छ । यसबाट के बुझ्न सकिन्छ भने प्रधानमन्त्री मोदी नेपाल–भारत सम्बन्धबारे अत्यन्त ‘संवेदनशील’ छन् ।

यसको उदाहरणको रुपमा यसै वर्षको माघमा नेपाल–भारत विराटनगर–जोगबनी इन्टिग्रेटेड चेकपोष्टको भिडियो कन्फरेन्सको माध्यमबाट दुवै देशका प्रधानमन्त्रीहरुले उद्घाटन गरे । त्यसै क्रममा प्रधानमन्त्री मोदीले भनेका थिए– ‘नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको छ र नयाँ दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णिम दशक हुनेछ ।’

नेपाल–भारत सम्बन्धको जटिलता र घनत्वका कारण जहिले पनि नयाँ आउने भारतीय राजदूतका लागि ‘चुनौती र अवसर’ दुवै प्राप्त छ । चुनौती यस मानेमा कि नेपाल–भारत सम्बन्धमा समस्या यति धेरै छन् कि तिनीहरुको समाधान खोज्दाखोज्दै राजदूतको कार्यकाल सकिन्छ । अवसर यस मानेमा छ कि दुवै देशका राजनीतिक नेतृत्वले दृढ इच्छाशक्ति देखाएमा यी सबै समस्याहरु सजिलै समाधान हुँदै जानेछन् । दुई देशबीचका समस्या समाधानका लागि कर्मचारीतन्त्रमा मात्रै भर पर्ने हो भने कहिल्यै समाधान हुनेछैनन् र इपिजी रिपोर्ट अलपत्र भएबाटै स्पष्ट हुन्छ ।

वर्तमान नेपाल–भारत सम्बन्ध सुधारको प्रस्थानविन्दु भनेको दुवै देशका सरकारले चुनेका प्रबुद्ध व्यक्तिहरुले अत्यन्त मेहेनतका साथ नेपाल–भारत सम्बन्धका सबै पक्षहरुलाई केलाएर तयार पारेको इपिजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले ग्रहण गरेर अपनत्व प्रदान गर्नु हुनेछ । यसका लागि क्वात्राको विशेष भूमिकाको आवश्यकता छ ।

अबका दिनमा पनि नेपाल–भारत सम्बन्धलाई टुक्रा टुक्रामा हेरियो भने कहिल्यै पनि समाधान हुनेछैन । त्यसैले इपिजीको रिपोर्टबाट नयाँ सम्बन्धको बाटो खोलिनु दुवै देशको जनताको हितमा हुनेछ । एक अर्ब ३५ करोड जनसंख्या भएको छिमेकी भारतसँगको खुला सिमानाका कारण तीन करोड जनसंख्या भएको नेपालको स्वाधीनताको रक्षाका लागि पनि सीमा नियमन आवश्यक छ । यसका लागि कालापानीदेखि नेपाल–भारत सीममा देखिएको विवाद अन्त्य हुनु जरुरी छ ।

हालै भारतले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि नेपाल–भारत सीमा वारपार गर्नका लागि जुन कठोर परिचयपत्रको व्यवस्था गरेको छ, यो निरन्तर रहिरहनुपर्छ । इपिजी प्रतिवेदनमा पनि यस कुराको उल्लेख छ भनिन्छ । नेपाल–भारत दुवै देशमा दुईतिहाइको बलियो सरकार र दुवै देशका प्रधानमन्त्रीबीच अत्यन्त सुमधुर सम्बन्ध भएको बेला प्रधानमन्त्री मोदीले भनेजस्तो ‘आउँदा दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक हुन कत्ति पनि बेर लाग्नेछैन । त्यसकारण नयाँ राजदूत क्वात्राका लागि नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनका निमित्त अवसरै अवसर प्राप्त छ । हेर्नु छ, अनुभवी कूटनीति क्वात्राले नेपाल–भारत सम्बन्धलाई कुन उचाइमा पु¥याउनेछन् ।

twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्