Logo
Logo
आईसीसी क्रिकेट विश्वकप लिग २

नेपाल नामिबियासँग पराजित



काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

विहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नामिबियाका लागि अलराउन्डर जान निकोल लफ्ट इटन र जेजे स्मिटले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितको आधार तय गरे । स्मिट ३५ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे । लफ्ट–इटनले ३० बलमा ५ चौकासहित ३१ रन जोडे ।

नामिबियाका लागि जान फ्रिलिंकले ३४ रन जोडे । उनी २१ औं ओभरमा सोमपालको बलमा क्याच आउट भएका थिए ।

ओपनरद्वय निको डाभीन १५ रन र माइकल भान लिंगेनले ३३ बलमा २३ रन जोडे । दुवैलाई ललित राजवंशीले आउट गरे । कप्तान एरास्मस ८ रन बनाएर सोमपालको बलमा क्याच आउट भए । उनी आउट भएको ३ बलपछि नै फ्रिलिंक आउट भएका थिए ।

२५ औं ओभरमा जेन ग्रीन आउट भएपछि नेपालले खेलमा फर्कने संकेत पाएको थियो । सोमपालले लगातार ३ विकेट लिँदै ८१(२ बाट ८४(५ को स्थितिमा पुर्याएपछि नामिबिया दबाबमा थियो । तर स्मिट र लफ्ट इटनले टोलीलाई जितसम्म पुर्याए ।

त्यसअघि नेपालले ४१. १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो ।

प्रतिक्रिया दिनुहोस्