काठमाडौं । एसीसी वुमेन्स प्रिमियर कपको दोस्रो सेमिफाइनलमा नेपालले घरेलु टिम मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।
नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन् । यस्तै, ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन् । सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन् ।

यस्तै, डोली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन् । बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन् । आजको खेलमा जित निकाले नेपालले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ भने एसिया कपमा समेत छनोट हुनेछ । प्रिमियर कपका शीर्ष दुई टिम एसिया कपमा पुग्ने प्रावधान छ ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएईले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरिसकेका छन् ।














