Logo

सार्क क्षेत्रमा कोरोना भाइरस : कालो बादलमा चाँदीको घेरा


Published On : 17 March, 2020

  • डा. दीपेश केसी

बादल जतिसुकै कालो भएपनि चाँदीको घेरा हुन्छ । चुनौतीहरुले अवसर पनि बोकेको हुन्छ, त्यसलाई पहिल्याउन सक्नुपर्छ । प्रकोपले क्षति मात्र पु¥याउँदैन नयाँ युगको शुरुवात गर्ने बिन्दुको रचना गर्छ । इतिहासका धेरै कालखण्डमा यस्तै भएको छ । दोस्रो विश्वयुद्धपछि एक अर्काविरुद्ध लडेका अमेरिका र जापान नजिकिए । अहिले अमेरिका जापानको सबैभन्दा नजिकको मित्रशक्ति भएको छ । जर्मनीमा हिटलरको पतनले युरोपेली युनीयनको क्रमिक विकाससँगै अहिले युरोप एउटै परिवार जस्तो भएको छ । लडाईंको तिक्तता बिर्सेर शान्तिको दीप प्रज्वलन गर्दा भविष्यको सुन्दर मार्ग देख्न र बुझ्न सकिन्छ । युरोपबाट सिक्ने यही हो जहाँ विगतमा लडाईं लडेका देशहरु अहिले परिवारका एउटै सदस्य बनेर मिलेर दुःख सुख बाँड्दै बढिरहेका छन् । ‘कनेक्टिभिटी’ बढाएर भौतिक र भावनात्मक रुपमा दुरी छोट्याएका छन् ।

सार्क देशहरुबीच फेरि नयाँ शिराबाट नयाँ शुरुवातको माहोल तयार भएको छ । यसलाई जोगाएर बढ्नसके कोरोना भाइरसविरुद्धको लडाईंमा जित हासिल मात्र हुँदैन सार्कले सिंगो विश्वलाई गतिलो सन्देश दिनसक्छ । परेको अवस्थामा सार्क देशहरु जुट्छन् भन्ने सन्देश पनि जान्छ । यो सहकार्य र सामिप्यतासँगै साझा अवधारणा अक्षुण राखेर बढ्नसके सार्क सँसारकै समृद्ध र शान्त क्षेत्रमा पर्नसक्छ । विश्वको झण्डै दुई अर्ब जनसंख्या रहेको यो क्षेत्रमा स्रोत र साधनको कमी छैन । यहाँ अवसरको खानी छ । त्यसको सही सदुपयोग साझा रणनीति र हामी हौं भन्ने भावनाका साथ हुनसकेमा सार्कको मात्र नभई यस क्षेत्रका मुलुक र जनताले सुख, शान्ति र समृद्धिको भरपुर आनन्द लिनसक्छन् ।

अहिले कोरोना भाइरसले महामारीको रुप लिइरहँदा सार्क देशहरु भावनात्मक रुपमा नजिकिने अवस्था बनेको छ । सार्क शिखर सम्मेलन नभइरहेको अवस्थामा सार्क राष्ट्रका नेताहरुले भिडियो कन्फरेन्समार्फत् आइतबार संयुक्त छलफल गरे । उनीहरुले कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न साझा रणनीति बनाउनेबारे गम्भीर छलफल गरे । सार्कका आठवटा राष्ट्रमध्ये छ वटा राष्ट्रका राष्ट्रपति वा प्रधानमन्त्री भिडियो कन्फरेन्समा सहभागी भएका थिए । पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी भए । धेरै पछि भारत र पाकिस्तानका अधिकारीहरु आमने सामने बसेर छलफल गरे । केही तीतामीठा विषय आएपनि यसले सकारात्मक संकेतहरु गरेको छ ।

छिमेक प्रथम

छिमेक कदापि फेर्न सकिदैन । राम्रो होस् या नराम्रो छिमेकलाई झेल्नुपर्छ । त्यसैले छिमेक राम्रो भएमा आफूलाई पनि सहज र सुख मिल्छ । यो तथ्यलाई सार्क राष्ट्रहरुले नबुझेका होइनन् । तर, यस क्षेत्रमा मुख्य दुई देशको विश्वासको संकटले क्षेत्रीय राजनीतिमा विगत देखि वर्तमान नभई भविष्यसम्म दुरगामी असर पर्ने घटना विकास हुँदै आएको छ । मुख्यगरी भारत र पाकिस्ताबीचको विवादले सार्क राष्ट्रहरु जसरी अगाडि बढ्न सक्थे बढ्न सकेका छैनन् । एकले अर्कामाथि लगाउने आरोप प्रत्यारोपले क्षेत्रीय राजनीतिलाई प्रभावित बनाउने गरेको छ ।

यसपटक भारतीय प्रधानमन्त्री मोदीले सार्कका सबै देशका नेताहरुलाई गरेको आग्रहलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै जवाफ दिएनन् । अन्तिम समयमा आएर पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्री मिर्जा भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी आयो । तर, मिर्जाले कोरोना भाइरसविरुद्धको बलियो रणनीति तय गर्ने छलफलमा काश्मिरको मुद्दा घुसाइदिए । कोरोना भाइरस नियन्त्रणका लागि काश्मिरमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरे । मेडिकल र स्वास्थ्य क्षेत्रमा आपतकाल घोषणा भएको उल्लेख गर्दै मिर्जाले भने, उक्त क्षेत्र काश्मिर मा सबै किसिमका प्रतिबन्ध हटाउनुपर्छ । उनले सञ्चार र यात्राले सबैलाई सही सूचना पुग्ने बताए । कोरोना भाइरसको विषयमा गरिएको छलफलमा यो विषय उठाउनु उपयुक्त समय थियो थिएन बहसको विषय हुनसक्ला । तर काश्मिरको विषयले भारत र पाकिस्तानबीच मनमुटाव चलिरहेको यथार्थ हो । यसलाई थाती राखेर अन्य विषयमा अगाडि बढ्न सकिने भएपनि अड्को यसैमा रहन्छ । जसका कारण सार्क देशहरुको समन्वय र सहकार्यमा समेत असर पर्दै आएको छ ।

छिमेक प्रथमको नीति महत्वपूर्ण भएपनि सार्कका बलिया दुई देशको द्वन्द्वले आर्थिक विकास, सहकार्य र कनेक्टिभिटीको विषयले गति पाउन नसकिरहेको अवस्था छ । सबैभन्दा बढी भारत र पाकिस्तानबीच व्यापारमा अड्को छ । दुई देशबीचको सीमामा रहेको कडाईले छिमेक भइकन उनीहरु अर्को महादेशको देशभन्दा टाढिएका छन् । जसको मूल्य सार्कका अन्य देशहरुले पनि चुकाउनुपरेको छ । त्यसैले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सार्क शिखर सम्मेलन नभइरहेको अवस्थामा अहिलेको संकटलाई अवसर बनाएर अगाडि बढ्न सकिने बताइन् । आखिर छिमेकलाई छिमेक नै चाहिन्छ । एउटा देशमा संकट पर्दा अर्को देशमा पनि असर पर्छ । झन् त्यसमाथि रोगको महामारीलाई लाइन अफ कन्ट्रोलले रोक्न सक्दैन । आतंकवादलाई कडा सीमा सुरक्षाबलले रोक्न सक्ला तर रोगको महामारीलाई रोक्न सक्दैन । यसका लागि सहकार्य गरी मिलेर अगाडि बढ्नुको विकल्प छैन । यसकारण पनि छिमेक प्रथमको नीति सदैव उपयोगी छ ।

चुनौतीमा अवसर

भिडियो कन्फरेन्समा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सहभागी भएनन् । यो पाकिस्तानका तर्फबाट घुर्की र असन्तुष्टि दुवै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनी तत्काल आमनेसामने कुरा नगर्ने निर्णयमै रहेको हुनुपर्छ । भारतले काश्मिर मामलामा लिएको निर्णयका कारण खान असन्तुष्ट छन् । उनले यो विषयलाई अन्तर्राष्ट्रियकरण समेत गरेका छन् । तर, भारत आफ्नो आन्तरिक मामला भन्दै आएको छ । काश्मिर मामलामा कतिपय देशले यसलाई भारतको आन्तरिक मामला भनेका छन् । जसमध्ये पाकिस्तानसँग नजिकको सम्बन्ध बनाएका मुस्लिम देशहरु समेत छन् । सार्कका अधिकांश देशले यसलाई भारतको आन्तरिक मामला भनेका छन् । तर, पाकिस्तान काश्मिर मामलामा बोल्दै आएको छ । जसलाई भारतले रुचाएको छैन । त्यसमाथि भारतमा भएका कतिपय आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको भारतको आरोप छ । जसलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ । यही आरोप प्रत्यारोपमा अल्झँदा सार्क देशहरुको सहकार्यले जुन उचाई हासिल हुन्थ्यो त्यो हुनसकेको छैन । जति समय बित्छ त्यति नै गुमिरहेको छ ।

कोरोना भाइरसको संक्रमणविरुद्ध साझा रणनीति बनाएर अगाडि बढ्ने गरी भएको छलफलले नयाँ मार्ग तय गरेको छ । अब स्वास्थ्यकै विषयले भएपनि सार्क देशहरु फेरि एक अर्कामा जोडिएका छन् । अब राजनीतिक र प्रशासनिक तहमा जोडिइरहने अवस्था बनेको छ । नेताहरुले आ आफ्नो तर्फबाट प्रस्तावहरु गरेका छन् । मोदीले कोरोना भाइरसको गम्भीर चुनौती देखिएको भन्दै सार्क राष्ट्रहरु सहकार्य गरेर बढ्नुपर्नेमा जोड दिए । उनले भाइरसविरुद्ध लड्न साझा कोषको प्रस्ताव गर्दै भारतका तर्फबाट एक करोड डलरको घोषणा गरे जुन सहकार्य र साझा रणनीतिको आरम्भ मान्न सकिन्छ ।

कोरोना भाइरसका कारण विश्वभर आर्थिक संकट पर्ने देखिइसकेको छ । यसको मारमा सार्क देशहरु पनि पर्नसक्छन् । भविष्यमा आउने चुनौतीको सामना गर्न एक आपसमा सहकार्य गरेर बढ्नुको विकल्प छैन । एक अर्कालाई आवश्यक पर्दा साथ सहयोगको भावना विकास गर्नु अनिवार्य भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध सार्क देशहरुको सामूहिक कदमले महत्वपूर्ण उलब्धि हासिल गर्न सकिने बताए । सार्कका अन्य नेताहरुले पनि साझा भावना र कदममा जोड दिए । सार्कको सान्दर्भिकता र सक्रियताको अनिवार्य आवश्यकतामा नेताहरु एकमत भएको सन्देश भिडियो कन्फरेन्सबाट गइसकेको छ । तर, यसको सही कार्यान्वयन चुनौतीपूर्ण छ । जसको विकल्प छैन ।

अबको मार्ग

सार्क राष्ट्रहरुले समृद्धि र क्षेत्रीय शान्तिको सुनिश्चितताका लागि एक अर्कामा विश्वासको गहिरो जग बसाल्नैपर्छ । कतिपय समस्याहरुको समाधान गर्दै जानुपर्छ । समाधान गर्न नसकिएका समस्याहरुलाई तत्काल थाती राखेर भएपनि मूल विषयमा प्रवेश गर्नुपर्छ । तत्कालको समस्या महत्वपूर्ण हुन्छ । अहिले कोरोना भाइरस सार्क राष्ट्रका लागि पनि चुनौतीपूर्ण छ । भारत र पाकिस्तानमा यो दिनानुदिन बढ्दैछ । धेरै जनसंख्या भएका यी दुई देशमा भाइरस भयावह बन्यो भने सार्क क्षेत्र नै संकटमा पर्छ । भारतमा फैलिएको भाइरसलाई पाकिस्तानको मिसाइलले रोक्न सक्दैन र पाकिस्तानमा फैलिएको भाइरसलाई भारत पुग्न अत्याधुनिक हतियारले रोक्न सक्दैन । आणविक अस्त्र सम्पन्न भएपनि भाइरसको जोखिम रोक्न ती अस्त्र पनि काम लाग्दैनन् । भाइरसविरुद्ध लड्न साझा रणनीति र साझेदारी जरुरी भइसकेको छ । वाध्यकारी भएपनि अहिले भारत र पाकिस्तानलाई एक अर्कासँग आमनेसामने भई सहकार्य गर्नुपर्ने अवस्थामा पु¥याएको छ । बनेको वातावरणमा अनावश्यक एजेन्डा घुसाएर वातावरण बिगार्नु भनेको राष्ट्रिय स्वार्थमै आघात पु¥याउनु सरह हो । अहिलेको संकटमा क्षेत्रीय स्वार्थ उत्तिकै महत्वपूर्ण भइसकेको छ ।

सार्क देशहरुबीच फेरि नयाँ शिराबाट नयाँ शुरुवातको माहोल तयार भएको छ । यसलाई जोगाएर बढ्नसके कोरोना भाइरसविरुद्धको लडाईंमा जित हासिल मात्र हुँदैन सार्कले सिंगो विश्वलाई गतिलो सन्देश दिनसक्छ । परेको अवस्थामा सार्क देशहरु जुट्छन् भन्ने सन्देश पनि जान्छ । यो सहकार्य र सामिप्यतासँगै साझा अवधारणा अक्षुण राखेर बढ्नसके सार्क सँसारकै समृद्ध र शान्त क्षेत्रमा पर्नसक्छ । विश्वको झण्डै दुई अर्ब जनसंख्या रहेको यो क्षेत्रमा स्रोत र साधनको कमी छैन । यहाँ अवसरको खानी छ । त्यसको सही सदुपयोग साझा रणनीति र हामी हौं भन्ने भावनाका साथ हुनसकेमा सार्कको मात्र नभई यस क्षेत्रका मुलुक र जनताले सुख, शान्ति र समृद्धिको भरपुर आनन्द लिनसक्छन् ।

प्रतिक्रिया दिनुहोस्