काठमाडौं । जेनजी आन्दोलन क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सञ्चालनमा आएको छ । सोमबार बिहानदेखि भाटभटेनीको टंगाल स्टोर सञ्चालनमा आएको हो । शुभारम्भका लागि अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ पनि स्टोरमा पुगेका थिए ।

स्टोर आज बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो । गत भदौको जेनजी आन्दोलनका क्रममा २४ गते प्रदर्शनकारीहरूले भाटभटेनीमा आगो लगाएका थिए । आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अनुसार जेनजी आन्दोलन क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
ती दुवै स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले कठिन परिस्थितिबीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
आगजनीबाट स्टोरहरूमा ठूलो क्षति पुगे पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताए ।
‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए । तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौं,’गुरूङले भनेका छन्, ‘हामी एउटा निष्कर्षमा पुग्यौं-खरानीबाट फेरि उठ्ने छौं।’
आन्दोलन क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ । कठिन अवस्थामा समेत कर्मचारीलाई सेवाबाट अलग नगरिएको र गत वर्षको दसैँ बोनससमेत कटौती नगरिएको कम्पनीको भनाइ छ ।
‘हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ । गत वर्षको दसैँ बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौं,’ गुरूङले विज्ञप्तिमार्फत भनेका छन् । टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
साथै, आगामी दिनमा आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ ।















