Logo
Logo

आईसीसी लिग-२ : आज नामिवियासँग भिड्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिवियासँग खेल्दैछ । खेल बिहान ९ :३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् । नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो ।

नेपालका भीम सार्कीले ४४ रन बनाउनबाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो । दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ ।

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ । अनुभवी तीव्र गतिका बलर करण केसी टोलीमा फर्किदा देव खनाल बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना देखिँदैन ।

तेस्रो नम्बरमा अनिल साह हुनेछन् । अनिल राम्रो लयमा छन् । नेदरल्यान्ड्सविरुद्ध अनिलले ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनको आक्रामक इनिङ खेलेका थिए । क्यानडासँग ५० र ११२ रनको इनिङ खेलेका थिए ।

नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो । आज नेपालले आइसीसी विश्वकप लिग–२ अन्गर्तत आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्