Logo
Logo

१० वर्षमा प्रहरीको पोलिग्राफ शाखाबाट ५ हजार बढीको पोलिग्राफ परीक्षण



काठमाडौं । नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट ५ हजार बढीको परीक्षण भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार स्थापना भएदेखि यता १० वर्षको अवधिमा २ हजार ७ सय ७८ मुद्दाका ५ हजार ४ सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको हो ।

यो परीक्षण अपराध अनुसन्धानमा महत्वपूर्ण रहेको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । ‘पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानहरूमा महत्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणहरूले अनुसन्धानलाई निर्देशित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्यांकले देखाएको छ,’ उनले भने ।

यस्तै, यसलाई प्रभावकारी बनाउन कर्मचारीलाई तालिम दिनेमा विशेष ध्यान दिइएको उनले बताए । ‘यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ । साथै, समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्यांकन समेत गर्ने गरिएको छ,’ उनले भने ।

व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधिलाई पोलिग्राफ भनिन्छ । यसलाई वैज्ञानिक भाषामा झुटो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिने उनले बताए । काठमाडौं बबरमहल बस्ने पूर्वराजदूत केशवराज झाको २०७५ भदौ ६ गते हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा शंकास्पद व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएको थियो ।

यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गत असोज २३ गते गोली हानेर हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न व्यक्तिको पोलिग्राफ परीक्षण गरिएको थियो । त्यसैगरी काठमाडौंको रानीबारीस्थित इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएको थियो ।

नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण गर्न थालेको थियो । पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी ३ चरणमा परीक्षण गरिन्छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । शंकित व्यक्तिले झुट बोले/नबोलेको परीक्षणले संकेत गर्दछ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा १४३ वटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २६३ पुरूष र २७ महिला छन् । उनीहरूमध्ये झुट बोलेको संकेत १०६ जना, झुटो नबोलेको संकेत १७० जना, राय दिन नसकेको अवस्था २ जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत १ जनामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्