Logo
Logo

जीबी राईको सहकारी ठगीमा भण्डारी र साह तानिंदै



काठमाडौं । काठमाडौं, पोखरा, बीरंगज, चितवन, बुटवल, नेपालगंजमा सहकारी खोलेर ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड बचत हिनामिना गरेका गीतेन्द्रबाबु राई (जीबी) भागेर मलेसियामा लुकेर बसेका छन् । उनले बचतकर्ताको रकम हिनामिना गरेर खरिद गरेका महंगा जग्गा पछिल्ला दिनमा धमाधम बिक्री गर्दै त्यो रकम मलेसियामा लगेको र उतै ब्यवसायमा लगानी गरेको आरोप छ । सहकारी समस्याग्रस्त भइसकेपछि जीबीले उक्त जग्गा बिक्री गरेको देखिन्छ ।

चेतन भण्डारी, जीबी राई र पवनकुमार साह

जीबी राईले सहकारीको बचत हिनामिना गरी खरिद गरेको ललितपुर सैंबुको २३ रोपनी ७ आना जग्गा पोखराको सूर्यदर्शन सहकारी समस्यामा पर्न थालेपछि गतबर्ष नै बिक्री गरेका थिए । सहकारी ऐन नियमबिपरीत ६ वटा सहकारीका अध्यक्ष भएका जीबीका बिरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।

जीबीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले तुरुन्त नेपालमा ल्याएर अनुसन्धान गर्नका लागि डिफ्युजन नोटिस जारी गरिसकेपछि उनले सहकारीको बचत हिनमिना गरी खरिद गरेका जग्गाको पनि खोजी गर्ने भएको छ । जीबीले ललितपुर संैबुको २३ रोपनी जग्गा सहकारी समस्यामा पर्न थालेपछि बिक्री गरेको खुलेको छ ।

पोखराको सूर्यदर्शन र बीरगंजको सानो पाइला सहकारीका बचतकर्ताले बचत फिर्ता नपाएपछि २०७९ बैशाखदेखि नै उजुरी दिन थालेपछि जीबीले जग्गा बिक्री गर्न थालेका थिए । ललितपुरको उक्त जग्गा सबैभन्दा महंगो र आनाको कम्तीमा ४० लाख पर्ने भएकाले हतार हतार चेनी क्यापिटललाई उनले बिक्री गरेका हुन् ।

चेनी क्यापिटलका संचालकहरुमा श्रीमती रश्मिदेवी साह, एकनाथ भण्डारी र रक्षम इन्भेष्टमेन्ट कम्पनी छन् । रश्मीदेवी साह शंकास्पद भारतीय नागरिक पवनकुमारकी श्रीमती हुन् भने रक्षम इन्भेष्टमेन्ट कम्पनी स्वयं उनकै हो ।

एकनाथ भण्डारी बाजेको सेकुवाका मालिक चेतन भण्डारीका आफन्त हुन् । चेनी क्यापिटलमा पहिला जीबी राईका आफन्त समेत रहेका थिए । जीबीले आफू नै आवद्ध कम्पनी चेनी क्यापिटललाई जग्गा बिक्री गरेको देखाएर कानुनतः सरकारी निकायलाई गुमराहमा राख्न खोजेका छन् ।

सहकारी विभागले भने सहकारीका संचालकले बिक्री गरे पनि कानुनतः उक्त जग्गा बदर हुनसक्ने बताएको छ । विभागका रजिष्टार पिताम्बर घिमिरेले सहकारीको बचतले संचालकको नाममा किनिएको उक्त जग्गा बदर हुने बताए । बाजेको सेकुवाका संचालक चेतन भण्डारी ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका पात्र हुन् ।

जीबी राईको जग्गा खरिद गरेको चेनी क्यापिटलका संचालकमध्येका पवनकुमार साहले रौतहटबाट नक्कली बाबु बनाई नेपाली नागरिकता लिएका छन् भने भारतीय रासनकार्डमा उनको नाम त्रिभुवन गुप्ता रहेको स्रोत बताउँछ । नेपाल र भारत दुबै देशका नागरिक पवनकुमार साहका भाइ अहिले पनि भारतीय नागरिककै रुपमा बीरगंजमा ब्यवसाय गर्दैआएका छन् । साहको बालुवाटारमा गंगा दाहालसँग सम्म पहुँच रहेको छ ।

चीनबाट तस्करी गरी इलेक्ट्रिक सिगरेट भेपको तस्करी गर्नेमा उनी अग्रपंक्तिमा पर्दछन् । सिल्क ट्रान्सपोर्टका रमेश शेर्पासँग मिलेर साहले २ बर्षको बीचमा अरबौंको भेप रसुवा र तातोपानी नाका हुँदै नेपालबाट भारतमा तस्करी गरेको स्रोत बताउँछ । साहले रमेश शेर्पासँग मिलेर उनले चीनबाट मल र चिनी तस्करीसमेत गर्दै आएका छन् ।

तिनै साह र बाजेको सेकुवाका संचालक मिलेर जीबी राईको ललितपुर संैबु भैसेपाटीको १ अर्ब ५० करोड रुपैयाँ बराबरको २३ रोपनी ७ आना जग्गा खरिद गरेका छन् । सहकारीको बचतबाट किनेको उक्त जग्गा जीबीले २०७९ भदौ १ गते चेनी क्यापिटललाई बिक्री गरेका थिए । जुन जग्गामध्ये करिब ३ रोपनी धितो राखी बैंकबाट १६ करोड ८० लाख ऋण पनि निकालिसकेका छन् । धितोको ४० प्रतिशतमात्र ऋण दिन पाउने ब्यवस्था भएपछि ओभरभ्यालुएसन गरी पवनकुमार साह र चेतन भण्डारीले ऋण लिएका छन् ।

ओभरभ्यालुएसन गरी ऋण प्रवाह गर्ने सेन्चुरी बैंकका तत्कालीन डीसीओ मनोज न्यौपानेसहित ११ जनालाई सीआईबीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । चीनबाट मल र चिनीमात्र होइन, साहले सत्यम एग्रो नामक कम्पनी खोलेर तेस्रो मुलुकबाट सुपारी, केराउ र पोस्तादाना नेपालमा ल्याई भारत तस्करी गर्ने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्