Logo
Logo

बिचौलियाको शरणमा मुख्यसचिव



काठमाडौं । टेरामक्स खरिद अनियमिततादेखि एशियन इन्फोलाई नेपाल टेलिकमको बिलिङको म्यादथपमा भएको घोटालामा मुछिएका मुख्यसचिव बैकुन्ठ अर्यालले राजीनामा दिनु त कता हो कता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिदा बस्नका लागि दिएको निर्देशन समेत अटेर गरेका छन् ।

नेपाल टेलिकमको बिलिङको म्यादथप गर्दा रामचन्द्र भट्टको मध्यस्थतमाा ३० करोड भन्दा बढीको चलखेल गरिएको बिषय खुलेको छ । जसमा मुख्यसचिव अर्याल मुछिएका छन् ।

अख्तियारले सुरक्षण मुद्रण विकास समिति(सेक्युरिटी प्रेस)को लागि आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माण गर्दा ६९ करोड घोटाला भएको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेका विकल पौडेलको हरेक भ्रष्टाचारमा मुख्यसचिव अर्याल मुछिएको खुलासा भएको छ ।

विकल पौडेलले अर्यालसँग गरेको संवाद र उनलाई पठाएको घुस रकमको भौचर सार्वजनिक हुँदा र टेरामक्स घोटालामा उनको प्रत्यक्ष संलग्नता खुल्दा पनि उनले राजीनामा दिएका छैनन् । प्रधानमन्त्री प्रचण्डले बिदा बस्न दिएको निर्देशन समेत उनले अटेर गर्दैआएका छन् ।

अरबौंको टेरामक्स खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान गरिरहेको अख्तियारले छिट्टै विशेष अदालतमा मुद्दा दर्ता गर्ने अभिब्यक्ति प्रमुख आयुक्त प्रेमकुमार राईले दिइसकेका छन् । तर मुख्यसचिव अर्याल भने राजीनामा दिएर छानबिन सहज बनाउन छाडेर पदमा टाँसिइरहेका छन् ।

टेरामक्स खरिद अनियमिततामा प्रत्यक्ष मुछिएका मुख्यसचिव अर्याल अझै पनि भ्रष्टाचारमा मुद्दा चलाउन नदिनका लागि बिचौलियाको भर परिरहेका छन् । बालुवाटारदेखि अख्तियारका पदाधिकारीसँग पहुँच भएको दाबी गर्दैआएका टेलिकमका ठेकेदार राम थापालाई मुख्यसचिवले पछिल्लो समयमा उन्मुक्ति पाउनका लागि परिचालन गरेका थिए ।

टेलिकमका ठेक्कामा कब्जा गरेका र टिकटकका नेपाली एजेन्ट रहेका थापाले पनि अख्तियारबाट उन्मुक्ति दिलाउने आश्वासन उनलाई दिइरहेका बेला विकल पौडेलसँगको घुस प्रकरण र टेलिकमको बिलिङको ठेक्काको म्यादथपको समाचार सार्वजनिक भएको छ ।

अख्तियारमा पहुँच देखाएर प्रमुख आयुक्त प्रेमकुमार राईको नाम समेत लिंदै हिंड्ने गरेका थापाले टेलिकमकी निमित्त प्रबन्ध संचालक संगीता पहाडीलाई मुख्यसचिव अर्यालमार्फत् आफूअनुकूलको निर्णय गराउन सफल हुँदैआएका छन् ।

बिचौलिया थापाले आफन्तको नाममा कम्पनी खोलेर अख्तियारमा पहुँच देखाएर टेलिकमका ठेक्का लिने गरेको आरोप छ । थापा टिकटक खुलाउन प्रधानमन्त्री प्रचण्डसम्म पुगेका छन् । दूरसंचार प्राधिकरणले इन्टरप्रदायक संस्थाहरुलाई टिकटक चलाएको बिषयमा कारबाही गर्ने सूचना जारी गरिरहेको बेला थापा भने बालुवाटारमार्फत् खुलाउने दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्