Logo
Logo

सुन काण्डमा दिपेशलाई किन जोगाइयो ?



काठमाडौं । दुबईबाट ल्याएको १४ किलो सुन तस्करीमा संलग्न आरोपमा प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङ थुनामा छन् । डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेका सीईओ गुरुङमाथि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

तर उनीसँग संगतमा रहेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भने प्रहरीले छाडिदिएको छ । गुरुङ पूर्व उपराष्ट्रपति नन्दबहादुरको सचिवालयमा कार्यरत रहेको भन्दै विभिन्न सरकारी कार्यालयमा पुग्ने गरेको र उनलाई छोरा दिपेश पुनले साथ दिएको स्रोतले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न विमानस्थल भन्सार कार्यालयलाई अनुमति दिएको छ । मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा, बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् ।

गोरखा बारपाक घर भएका मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरेर दुबईबाट प्रतिखेप १४ किलो सुन नेपालमा ल्याउने गरेको उपसचिव मणिराम पौडेल नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।

दुबईबाट अंकित अग्रवाल र गुरु नामका व्यक्तिहरुले सुन पठाउने गरेको खुलेको छ । तस्करीमा संलग्न मीनबहादुर घले र जीवन कुमार गुरुङको बिचमा अत्यधिक फोन सम्पर्क देखिएको थियो । विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरु अहिले मीनबहादुर र जीवनकुमार गुरुङको कल डिटेल्स रेकर्ड (सीडीआर) विश्लेषण गरिरहेका छन् ।

१४ केजी सुनको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले यसअघि नै अदालतमा मुद्दा दायर गरेको छ । तर, क्याम्पस सञ्चालक गुरुङविरुद्ध भन्सार कार्यालयले पूरक प्रतिवेदन पेस गर्दैछ । चन्द्र घले पक्राउ परेपछि फरार भएका गुरुङ फागुन १४ मा सामाखुसीबाट पक्राउ परेका हुन् ।

अनुसन्धान अधिकृतहरुले मीनबहादुर र जीवनकुमार बिच ३ महिनाको सीडीआर विश्लेषण गरिरहेका छन् । ३ महिनाको सीडीआर हेर्दा उनीहरुबिच अत्यधिक सम्पर्क देखिएको छ । क्याम्पस सञ्चालक जीवनकुमार गुरुङ र चिनियाँ सुन तस्कर दाओजिन वाङ्गको बिचमा पनि ‘कनेक्सन’ देखिएको छ ।

भेप र हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा फरार दाओजिन वाङ्गले चढेको गाडी जीवनको नाममा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट थाहा भएको छ । वाङ्ग विगत १५ वर्षदेखि नेपालमा थिए ।

‘भेप’मा लुकाएर दुबईबाट सुन ल्याउने समूह र ६० किलो सुन ल्याउने समूहसँग चिनियाँ नागरिक दाओजिन वाङ्गको सम्पर्क देखिएको छ । वाङ्गले प्रयोग गर्ने ‘डस्टर’ गाडी ब्यूरोले बरामद गरेको थियो ।

सो गाडी जीवनकुमार गुरुङको नाममा रहेको अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सो गाडी हामीले गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा बुझाएका छौँ ।’जीवनले वाङ्ग र मीनबहादुर घलेसँग मिलेर सुनको काम गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

पर्वत स्थायी घर भएका जीवनकुमार गुरुङको विरुद्ध यसअघि नै अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार थिए । मीनबहादुर घले सुनका भरिया हुन् ।

उनले यसअघि ट्रेकिङ्ग र मेनपावरलाई वैदेशिक रोजगारीमा जाने मान्छेहरु दिने गरेको अनुसन्धानबाट थाहा भएको छ । मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले अहिलेसम्म १३८ केजी सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको थियो । गुरुङसँगै सम्पर्कमा रहेका पूर्वउपराष्ट्रपतिको छोरा दिपेश पुनलाई भने प्रहरीले सोधपुछ गर्न चाहेको छैन ।

प्रतिक्रिया दिनुहोस्