Logo
Logo

चर्चित रक गायक उगेश लिम्बूको लुकेको कथा, सिंगापुरदेखि न्युयोर्कसम्म



काठमाडौं । गायक उगेश लिम्बू सिंगापुर र न्युयोर्कलगायतका देशमा चर्चित छन् । नेपालमा पनि उनका गीतहरु लोकप्रिय छन् । तर, उगेशको चर्चा जति हुनुपर्ने हो, त्यति नेपालमा छैन । उनी नेपाल आउँछन्, कार्यक्रम गर्छन् जान्छन् । तर, उनको नेपाल आवत–जावत नेपाली मिडियालाई पत्तै हुँदैन । पछिल्लो समय अमेरिकामा तहल्का मच्चाउँदै आएका यी रक गायक यतिखेर नेपालमा छन् ।

अंग्रेजीबाहेक ‘गहिरो आँखा’ र ‘हाम्रो गीत’जस्ता दर्जनौँ चर्चित नेपाली गीतका गायक उगेश लिम्बू भन्छन्, ‘यसपटक व्यक्तिगत कामको सिलसिलामा आएको हुँ । तैपनि, कन्सर्टहरु र रेकर्डिङमा व्यस्त भइदिएँ ।’

उगेश नेपालीभन्दा पनि अंग्रेजी गायनमा लोकप्रिय छन् । उनका ग्लोबल्ली श्रोता छन् । सन् २००४ देखि न्युयोर्क बस्दै आएका गीतकार र कम्पोजरसमेत रहेका रक गायक उगेश यो कपटक छोटो समयका लागि नेपाल आएका हुन् ।

कुराकानीको सुरुमै भने, ‘थोरै समयका लागि नेपाल आएको हुँ, तर यही अवधिमा धेरै काम गर्र्नुछ । विभिन्न कन्सर्टका आलावा केही गीत रेकर्डिङ र भिडियो पनि बनाउनुपर्ने भएकाले एकदमै व्यस्त भएको छु ।’ सिंगापुरमा जन्मे–हुर्केर हाल न्युयोर्क बस्दै आएका उगेश अंग्रेजी र नेपालीका आलावा हिन्दी तथा सुफी पनि गाउँछन् । उनका गीतहरु सिंगापुर, अमेरिका, भारत, अष्ट्रेलिया लगायतका देशमा चर्चित छन् ।

‘डग एण्ड बोण्डस्’, ‘रेड विन्स एण्ड ससेस्’जस्ता चर्चित अंग्रेजी गीतका गायक उगेश भन्छन्, ‘मिडियामा आउन नचाहेकाले यहाँ पब्लिकले कम चिनेको हुनसक्छ । तर, मेरो गीतहरु यहाँ पनि धेरैले रुचाएका छन् । त्यसैले त कार्यक्रम गर्न आइरहेको हुन्छु ।’

नेपालका प्रमुख शहरहरुजस्तै, काठमाडौं, धरान, इटहरी, चितवन, पोखरालगायतका स्थानमा उगेशले कैयौँपटक कार्यक्रम गरिसकेका छन् । यसपटक पनि नेपालमा बसाइको क्रममा उनी इटहरी, धरान, पोखरा र काठमाडौंमा प्रस्तुत हुँदैछन् ।

यही ८ मार्चमा इटहरी र ९ मा धरानमा प्रस्तुत भएका उनी पोखराको रोलिङ स्टोन रकबारमा १५ मार्चमा प्रस्तुत हुँदैछन् । यस्तै, काठमाडौंमा त्यसको भोलिपल्ट काठमाडौंको ठमेलस्थित क्लव ‘पर्पल हेज’मा कन्सर्ट गर्दैछन् । नेपालमा हुने कन्सर्टमा उनलाई नेपाली ब्याकअप ब्याण्डले साथ दिने गरेका छन् भने न्युयोर्कमा उनको आफ्नै ब्याण्ड छ ।

सन् १९९६ मा सिंगापुरमा ‘द अनसिभलाइज’ नामक एल्बम निकालेर सांगीतिक करिअर सुरु गरेका उगेश त्यो समय ‘वान इयर ओल्ड’ ब्याण्डमा आवद्ध थिए । उक्त ब्याण्डका उनी ड्रमर तथा भोकलिस्ट थिए । तर, पछिल्लो समय उनले गायन, कम्पोज र गीति लेखनलाई प्राथमिकता दिँदै आएका छन् ।

उगेश भन्छन्, ‘मेरो म्युजिकल करिअर ड्रमर र गितारिस्टबाट सुरु भएको हो । १७ वर्षको उमेरसम्म सिंगापुरमा बसेका उगेशले न्युयोर्क सरेपछि ‘नर्मल एकेडेमिक’ ब्याण्डबाट सांगीतिक करिअर अगाडि बढाए ।

सिंगापुरमा हुँदा अंग्रेजी गीतमात्र गाएका उगेश भन्छन्, ‘नेपाली गीत गाउनुपर्छ भन्ने सोच थियो । तर, अवसर नै मिलेन । जब अमेरिकामा नेपाली कम्युनिटीसँग घुलमिल हुँदै गयो, त्यसपछि अंग्रेजीसँगै नेपाली र हिन्दी गीत गाउन थालेको हुँ ।’

‘द क्लास’, ‘द रोमन्स’, ‘ग्रिन डे’जस्ता विश्व चर्चित रक ब्याण्डहरुबाट प्रभावित भएर गायनमा लागेका उगेशका ५० भन्दा बढी चर्चित गीत छन् । अंग्रेजीबाहेक उगेशका ‘पर्खिरहेछु’, ‘गहिरो आँखा–१’, ‘गहिरो आँखा–२’, ‘हाम्रो गीत’, ‘पंखको नाममा कलंक’जस्ता दर्जनौँ गीतहरु चर्चित छन् ।

हालसम्म उगेशले दर्जनौं देशमा कन्सर्ट गरिसकेका छन् । सन् २००८ देखि २०१० को बीचमा त उनी कन्सर्टका लागि ‘फस्ट च्वाइज’ थिए । सिंगापुर र अमेरिका उनका लागि खेल्ने आँगनजस्तै हो ।

अष्ट्रेलिया, क्यानडा, दुवई, जापान, कतारलगायतका देशमा पटक–पटक कन्सर्ट गरेका उगेश भन्छन्, ‘त्यसबीचमा विश्व चर्चित रक स्टार तथा गायक÷गायिकासँग स्टेज शेयर गर्ने अवसर पनि मिलेको छ ।’

पछिल्लो समय अंग्रेजीका आलावा नेपाली गायनलाई पनि प्राथमिकता दिँदै आएका उनी नेपालका कुना कन्दरामा कन्सर्ट गर्न रुचाउँछन् । ‘मुख्य सहरहरुमा सन् २०१६ देखि नै कार्यक्रम गर्दै आएको छु’, उनले भने, ‘तर, अब मलाई नेपालको जिल्ला जिल्लाका कार्यक्रम गर्ने इच्छा छ ।’

प्रतिक्रिया दिनुहोस्