Logo
Logo

नेपालमा चिनियाँ सेनाको चासो



काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धिको लागि छलफल गर्ने भन्दै चिनियाँ सेनाको टोली नेपाल आएर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट गरिसकेको छ । नेपाली सेनाको उच्च स्रोतले दिएको जानकारी अनुसार चिनियाँ जनसेनाका मेजर जनरलको नेतृत्वमा ६ सदस्यीय टोली शनिवार काठमाडौं आइपुगेर आइतबार प्रधानसेनापतिसँग भेटघाट गरिसकेको हो ।

अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ पाओछुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले नेपाली सेनाका उच्च अधिकारीसँग भेटघाट गरेर नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाको सहयोगबारे छलफल गरेको छ ।

शनिवार कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा जनसेनाका वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ आएका हुन् । उनीहरुलाई सेनाले लाजिम्पाटको होटल र्याडिसनमा बस्ने व्यवस्था गरिएको छ ।

मंगलबार फिर्ता हुने तालिकासहित आएको सेनाले विभिन्न सैन्य सामाग्रीको सहयोगबारे छलफल गरेको बुझिएको छ ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको बेला चिनियाँ टोली नेपाल आएको हो ।

नेपाली सेनाले चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पु¥याएको छ । त्यसका लागि रकम समेत पठाइसकेको स्रोतको दाबी छ ।
चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ ।

‘सेनाले हतियार पनि चीनबाटै खरिद गर्दैछ, चिनियाँ सेनाको टोलीपनि नेपाली सेनाको क्षमताअभिवृद्धि गराउने बहानमा नेपाल भ्रमण गरिरहेका छन्’, स्रोतले भन्यो । शनिवार नेपाल आएको टोली मंगलबार राती सिंगापुर जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्