Logo

कोरोनाको डढेलोबाट बचौँ


Published On : 27 March, 2020

  • शम्भु श्रेष्ठ

काठमाडौं, १४ चैत । कोरोना भाइरसको उद्गमस्थल चीनको उहान सहरमा गत ३ फागुनको बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको निगमको विमान अवतरण हुँदा त्यहाँ अलपत्र परेका नेपालीहरु ‘अब बाँच्छु’ भनेर ढुक्क भए । उहानजस्तो ठाउँमा उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज अवतरण भएपछि नेपालीहरुको मनमा हाम्रो पनि देश रहेछ । हामीलाई उद्वार गर्न हाम्रो सरकार आइपुगेछ जस्तो महशुस भयो ।


उहान अन्तर्राष्ट्रिय विमान स्थलमा कडा स्वास्थ्य परीक्षणपछि निगमको जहाजभित्र पस्दा त्यहाँ रहेका नेपालीले घरभित्र आइपुगेको मशहुस गरे । गर्वले छाती फूक्यो । फागुन ४ गते १७५ जना विद्यार्थीलाई उद्धार गरेर काठमाडौं ल्याइयो ।
उहानबाट उद्वार गरेर ल्याइएका विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पु¥याइयो । उनीहरु कसैमा पनि कोरोना संक्रमण भएको देखिएन । उनीहरु सबै हाँसी खुसी आफ्नो घर फर्किए । त्यतिबेलासम्म नेपाल ढुक्क थियो । कोरोनाबारे यहाँ कुनैपनि खालको सचेतना अपनाइएको थिएन । मात्रै, नेपालमा कोरोना भित्रिँदैन भन्ने विश्वासमा सरकार थियो । स्कुल, कलेज, सार्वजनिक यातायात, सरकारी कार्यालय, विवाह भोजहरु मज्जाले चलिरहेको थियो ।
जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका प्रमुखहरुसँग भिडियो ‘कन्फ्रेन्स’ गरे, तब मात्रै नेपाल सरकारले सजकता अपनायोे । नभए नेपाल ‘कुम्भकर्ण’ निन्द्रामै हुन्थ्यो । ‘जब प-यो राति, तब बुढी ताती’ भनेझैँ एकाएक ‘लकडाउन’ गरियो । देशैभरी ‘क्वारेन्टाइन’ स्थापना गरियो । तैपनि सावधानी अपनाइएको देखिएन । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया एक छात्रामा कोरोना पोजिटिभ देखिएपछि मात्रै सरकार सजग बन्यो । यो सरकारको नालायक र लार्पबाहीको एउटा नमुना थियो । अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुलाई सोझै क्वारेन्टाइनमा नपठाउँदाको परिणाम थियो । यदि विदेशबाट आएका यात्रुहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण पछि मात्र घर फर्कन दिएको भए यसको आतंक फैलन थिएन ।
नेपाल सरकारले पूर्ण सर्तकता नअपनाउदा देशैभरी कोरोना आतंकले सताएको छ । ‘पशुपतिनाथको कृपा’ले नेपालमा अहिलेसम्म कोरोनाका कारण एकजना मानिसको पनि मृत्यु भएको छैन । यो राम्रो कुरा हो । तर, यो भाइरसले महामारीको रुप लियो भने पशुपतिनाथले पनि केही गर्न सक्ने छैन ।
नेपालमा यो रोग पत्ता लगाउने किट्स टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग मात्रै छ । उपचार पनि त्यही मात्र हुन्छ । अन्य नीजि क्षेत्रका अस्पताल त ‘जनता लुट्न’मात्र स्थापना गरिएको छन् भन्ने कुरा अहिलेको घटनाले छर्लङ पार्छ । सरकारले स्वास्थ्यको क्षेत्रमा वार्षिक अर्बौ बजेट छुट्याउँदै आएको छ । तर, पूर्वाधार कुनैपनि सरकारी अस्पतालमा छैन । यसको मतलव स्वास्थ्यका नाममा अर्को भ्रष्टचार हुने गरेको छ । त्यसैले डा. गोविन्द केसीले उठाएका मागप्रति सरकार बेलै सचेत हुन जरुरी छ ।
किन भने, नेपाल भनेको काठमाडौंमात्रै होइन । काठमाडौंका जनताले जे जस्ता स्वास्थ्य सुविधा पाउँछन्, त्यो स्तरको स्वास्थ्य सुविधा हुम्ला, जुम्लाका गरिब जनताले पनि पाउनुपर्छ ।
राजनीतिक दलका बेरोजगार कार्यकर्तालाई रोजगार दिनका लागि मात्रै ‘गाउँ–गाउँमा सिंहदरबार’को व्यवस्था गरिएको होइन । त्यो त नागरिकले बाँच्न पाउने नैसर्गिक अधिकारलाई गाउँमा पु-याउन स्थापित लोकतान्त्रिक मूल्य र मान्यता हो । गाउँका जनताका पनि उपचारको अभावमा मर्नु हुन्न । यसतर्फ देशको सातै प्रदेश सरकार र स्थानीय सरकारसम्मै सचेत हुनुपर्छ ।
किन भने, उहानबाट हवाई जहाजमा उद्वार गरेर नेपाल ल्याइएका विद्यार्थीमात्र नेपाली होइनन्, भारतमा दैनिक मजदुरी गरेर फर्किएका श्रमिकहरु पनि नेपाली जनता नै हुन् । यो राष्ट्रिय संकटको घडीमा भारतबाट आउने नेपालीहरु माथि सीमामा भारतीय सुरक्षाकर्मीहरुले चेकजाँचको नाममा दुःख त दिएका छन् नै, त्यसमाथि नेपाल सरकारले समेत ती गरिब मजदुरहरुलाई कष्ट दिएका छन् ।
भारतबाट रातारात जंगलको बाटो भोकभोकै घर फर्किएका ती नेपालीहरु सीमामा अलपत्र परेको खबरहरु सञ्चारमाध्यममा आइरहेका छन् । तिनीहरुलाई समयमै उद्वार गर्नतिर सरकार लागेन भने, कोरोनाबाट काठमाडौं त सुरक्षित होला, तर सीमा क्षेत्र र पश्चिम नेपाल कोरोनाको डढेलोले ध्वस्त हुनेछ । सुनिँदैछ, भारतबाट आएका सयौँ नेपालीहरुमा सीमा क्षेत्रमा स्वास्थ्य जाँच गरिएको छैन । कतिपय क्वारेन्टाइनबाटै भागेका छन् ।
बिहान, बेलुकी हातमुख जोर्न वाध्यतावस भारतका विभिन्न ठाउँमा गएर श्रम गर्ने यस्ता श्रमिकलाई ज्यानको माया भएर नेपाल फर्किएको भएपनि कोरोना के हो ? यो रोग कसरी लाग्छ ? यो रोग लाग्न नदिन के के उपाय अपनाउनुपर्छ भन्ने थाहा छैन ।
यस्ता श्रमिको हातमा न त स्र्माट फोन छ, न घरमा टिभी नै । न उनीहरुसँग हात धुने साबुन छ, न त स्यानेटाइजर नै । उनीहरुको समस्या अहिले पनि हातमुख जोर्नमै छ । भारतबाट बल्ल बल्ल घर त फर्कियो, घरमा के खाने भन्ने समस्याले तिनीहरुलाई पिरोलिरहेको होला । यस्ता मजदुर तथा श्रमिकको संख्या लाखौँ हुनसक्छ । तिनीहरुको बारेमा सरकार मौन छ ।
कोरोनाको संक्रमणले जोगिएका श्रमिक परिवार खानै नपाएर म-यो भन्ने कुरा सुन्न नपरोस् । त्यसका लागि अहिलेदेखि नै स्थानीय निकाय सक्रिय हुनपर्ने देखिन्छ । उहानबाट उद्वार गरिएका नेपालीले सरकार भएको अनुभूति गरेझैँ भारतलगायत खाडी मुलुकबाट आएका ती गरिब श्रमिकले पनि सरकार भएको अनुभूति गर्न पाउनुपर्छ, मेरो सरकार ।

प्रतिक्रिया दिनुहोस्