Logo
Logo

सभामुखसहित १० जना जेनेभा प्रस्थान


693
Shares

काठमडौं । अन्तर–व्यवस्थापिका संघ (आइपियू)को १४८औँ महासभामा सहभागी हुन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित १० सदस्यीय प्रतिनिधिमण्डल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ ।

आइपियूको प्रधान कार्यालय रहेको जेनेभामा मार्च २३–२७ (१०–१४ चैत)सम्म सञ्चालन हुने महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बिहीबार बेलुका कतार एयरलायन्सको जहाजमार्फत दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासे छन् ।

यसैगरी, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेय, संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई जेनेभा प्रस्थान गरेका हुन् ।

महासभामा सभामुख घिमिरेले ‘पार्लियामेन्ट डिप्लोमेसीः बिल्डिङ ब्रिजेज फर पिस एन्ड अन्डरस्ट्यान्डिङ’ विषयको जनरल डिबेटमा संघीय संसद्को तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्नेछन् ।

आइपियूको फोरम अफ योङ पार्लियामेन्टरियनमा सन्तोष परियार र महेशकुमार बर्तौला तथा फोरम अफ वुमेन पार्लियामेन्टरियनमा गंगाकुमारी बेल्बासेले सहभागिता जनाउने सचिवालयले जनाएको छ। यसबाहेक आइपियूका स्थायी समितिका छलफलहरूमा समेत प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

आइपियूको महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकहरू सञ्चालन हुनेछन् । ती बैठकहरूमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सहभागिता जनाउने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । महासभामा सहभागी भई प्रतिनिधिमण्डल १६ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्