Logo
Logo

रुसबाट भुक्तानी स्वीकार गर्ने चिनियाँ बैँकमाथि पश्चिमी दबाबको क्रेमलिनद्वारा निन्दा


एजेन्सी


मस्को । क्रेमलिनले सीमापार लेनदेनमा केही ‘समस्या’ रहेको स्वीकार गर्दै बिहीबार रुसबाट भुक्तानी स्वीकार गर्ने चिनियाँ बैँकहरूमा ‘अभूतपूर्व दबाब’ सिर्जना गरेकोमा पश्चिमको आलोचना गरेको छ ।

रुसी वित्तीय स्रोतहरूलाई उद्धृत गर्दै क्रेमलिन समर्थक इज्भेस्टिया पत्रिकाले बिहीबार चिनियाँ ऋणदाताहरूले रूसी कम्पनीहरूबाट चिनियाँ युआनमा भुक्तानी अस्वीकर गरेको रिपोर्ट गरेको छ । ‘चीनमाथि अमेरिका र युरोपेली सङ्घको अभूतपूर्व दबाब जारी छ, यसले निश्चित समस्याहरू सिर्जना गर्न सक्छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई भने ।

वासिङ्टन र ब्रसेल्सका अधिकारीहरूले तेस्रो मुलुकका कम्पनी र बैंकहरूलाई निशाना बनाएका छन् । उनीहरूका अनुसार ती कम्पनी र बैंकले व्यापार र भुक्तानी कार्यान्वयन गरेर रुसलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न सहयोग गरिरहेका छन् ।

इज्भस्टियाको रिपोर्टअनुसार चिनियाँ ऋणदाता पिङ एन बैँक र बैँक अफ निङ्बोले रुस र अन्य साना बैँकहरूबाट चिनियाँ युआनमा भुक्तानी स्वीकार गर्न बन्द गरेका छन् । गत महिना रूसी निर्यातकर्ताहरूको प्रमुख बैँकमध्येको एक झेजियाङ चोझोउ कमर्शियल बैँकले ग्राहकहरूलाई रूससँग सबै लेनदेन निलम्बन गरेको सूचित गरेको रूसी मिडियाले रिपोर्ट गरेको थियो ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि बेइजिङ मस्कोको सबैभन्दा महत्त्वपूर्ण आर्थिक सहयोगी बनेको छ र दुई देशबीचको व्यापार बढेको छ । चिनियाँ भन्सार तथ्याङ्कअनुसार सन् २०२३ मा द्विपक्षीय व्यापार वार्षिकरूपमा २६ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब १० करोड डलर पुगेको थियो ।

‘पश्चिमी दबाब हाम्रो व्यापार सम्बन्धको थप विकासमा बाधा बन्न सक्तैन’, पेसकोभले भने । उनले बेइजिङ र मस्कोबीच विशेष प्रकृतिको सम्बन्ध रहेको र दुई देशले यस्ता अवरोधहरू पार गर्ने बताए ।

रूसी केन्द्रीय बैँकका प्रमुख एल्भिरा नाबिउलिनाका अनुसार रुसी निर्यातमा एक तिहाईभन्दा बढी चिनियाँ युआनमा कारोबार गरिन्छ । यो युक्रेनमा रूसले आक्रमण गर्नुअघि युआनमा भएको कारोबारको तुलनामा शून्य दशमलव ४ प्रतिशतले बढी हो ।
पश्चिमी प्रतिबन्धले मस्कोका बैँक र वित्तीय संस्थाहरूमा डलर र युरोमा अन्तर्राष्ट्रिय व्यापार गर्न रूसी कम्पनीहरूको क्षमतामा बाधा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्