Logo
Logo

स्वास्थ्यमन्त्री यादवलाई खतिवडा नै प्यारो



काठमाडौं । चौथो वरियताको उपप्रधानमन्त्री खान पनि तयार भएका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विवादित छविका उपसचिव भवनाथ खतिवडालाई निजी सचिवमा नियुक्ति गरेका छन् ।

खतिवडालाई यादवले पदबहाली गरेको भोलिपल्टै नियुक्ति गरेका हुन् । स्वास्थ्य सेवा विभागकी महानिर्देशक संगीता मिश्रले पनि खतिवडालाई मन्त्रीको पीए बनाउन भूमिका रहेको छ । विभागको डीजीमा निरन्तरताका लागि उनले खतिवडालाई सिफारिस गरेकी हुन् । खतिवडा स्वास्थ्य सेवा विभागमा कर्मचारी प्रशासन शाखाको प्रमुख थिए ।

खतिवडा विगत विगत १० बर्षदेखि (बीचमा एकाध बर्षबाहेक) कहिले मन्त्रीको निजी सचिव त कहिले प्रशासन शाखामा बसी कर्मचारी सरुवादेखि ठेक्कापट्टामा सेटिङ गर्ने काम गर्दैआएका छन् । केही समय अख्तियार लगायतका केही कार्यालयमा सरुवा भए पनि १० बर्षमा अधिकांश समय स्वास्थ्य मन्त्रालय अन्तर्गत नै कार्यरत छन् ।

यसअघि केपी शर्मा ओलीको सरकारमा यादव स्वास्थ्य मन्त्री हुँदा पनि खतिवडा उनका पीए थिए । खतिवडा उठाउन र बुझाउन खप्पीस देखेरै मन्त्री यादवले पुनः उनलाई पीएमा राखेको आरोप छ । विगतमा मन्त्रालयको योजना शाखामा हुँदा अग्रिम नजराना लिएर संघसंस्थालाई योजना पार्ने गरेको आरोप समेत खतिवडामाथि लागेको थियो ।

२०७४ मा दीपक बोहरा स्वास्थ्य मन्त्री हुँदा उनको निजी सचिव पनि खतिवडा नै थिए । खतिवडाले उक्त मन्त्रालयमा सरुवादेखि ठेक्कापट्टामा मच्चाएको घुस आतंकले कर्मचारीहरु त्रसित थिए । मन्त्रालय अन्तर्गतका सरुवादेखि विदेश मनोनयनमा समेत उनले लाभ लिने गरेको आरोप लागेको थियो । दीपक बोहराका पीए भएका उनी उपेन्द्र यादवका पनि विश्वासपात्र बन्न सफल भएका थिए । अहिले दोस्रो पटक पनि उनका विश्वासपात्र बनेर स्वास्थ्यमा भित्रिएका छन् ।

उपसचिव खतिवडा पूर्वसचिव धरणीधर खतिवडाका आफन्त भएकाले सधैं मालदार ठाउँमा मात्रै कार्यरत रहने अवसर पाए । मन्त्रीको निजी सचिव, ओमनको श्रम सहचारी भएका उनी जागिर खाएदेखि काठमाडौंमै मात्र रजगज गर्ने उपसचिवमा पर्दछन् ।

२०७५ मंसिरमा समायोजन ऐन आउनै लागेको बेलामा खतिवडाले स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग मिलेर मोलमोलाईका आधारमा चौथो तहदेखि सातौं तहसम्मका २ हजार भन्दा बढी कर्मचारीको सरुवामा करोडौं रकम उठाएको आरोप उनीमाथि लागेको थियो ।

रिक्त ठाउँमा सरुवा गर्दा विवाद हुँदैनथ्यो । तर समायोजन ऐन छिट्टै आउन लागेको बेलामा विभागका तत्कालीन महानिर्देशक डा. गुणराज लोहनी र खतिवडाले २ हजार भन्दा बढी कर्मचारीको सरुवा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्