Logo
Logo

केरुङनाका तस्करकै कब्जामा



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत हुँदा रसुवा र तातोपानी नाकामा हालीमुहाली गर्दैआएका ब्यापारीहरु बुद्धराज बस्नेत, अरुण थापा, सुवास तिमल्सिना, अमृत कार्की, उमेश प्रधान लगायतले अहिले पनि माओवादीसँग सेटिङ मिलाई अबैध ब्यापारलाई निरन्तरता दिन सफल हुँदैआएका छन् ।

उमेश प्रधान र सुवास तिमल्सिना

यता नेपालमा यसरी राजस्व छली गर्न सफल भएपनि उता चीनको ल्हासामा नक्कली एडिडास र नाइक ब्रान्डका ठूलो परिमाणका सामान चिनियाँ प्रहरीले बरामद गरेको थियो । गएको माघमा ल्हासाबाट केरुङ ल्याइपुर्याइएको ठूलो मात्राको ब्रान्डेड सामान चिनियाँ प्रहरीले सीसी क्यामरा फुटेजका आधारमा बरामद गरेको हो ।

उक्त करोडौंको सामान भने सिन्धुपाल्चोक कांग्रेसका स्थानीय नेता सुवास तिमल्सिनाको भएको बताइएको छ । उक्त सामानसहित चालक र मालबाहक ट्रक पनि चिनियाँ प्रहरीले नियन्त्रणमा लिएको थियो । झन्डै करोडको हाराहारीमा ब्यापारी तिमल्सिनाले चिनियाँ प्रहरीलाई बुझाई केवल सवारी चालक र गाडी छुटाउन सफल भएका थिए । बरामद सामान चिनियाँ प्रहरीले जफत गरेको थियो ।

तिमल्सिनाले विगत ४–५ बर्षदेखि भन्सार तथा राजस्व अनुसन्धान विभागलाई समेत सेटिङ मिलाएको बताएर निरन्तर रुपमा ब्रान्डेड सामानलाई कमसल घोषणा गरी आयात गर्दैआएका छन् । स्रोतले भन्यो– उनको यो क्यारिङ केवल देखाउने दाँतमात्र रहेको, खासमा उनी अबैध हुन्डी कारोबारमा संलग्न रहेको बताइन्छ ।

नेपाल प्रहरीको उच्च स्रोतले भन्यो, हामीले पनि पछिल्लो समय जानकारी पाएकाले सुक्ष्म रुपमा उनको हुन्डी कारोबारको संजालका बारेमा अनुसन्धान गरिरहेका छौं । उनी ठूला हुन्डी कारोबारीमध्येमै पर्ने प्रारम्भिक जानकारी हामीलाई स्रोतले दिएको छ ।

सुवास तिमिल्सना २०७२ अगाडिसम्म सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठका ट्रकका सहचालक थिए । पछि राजेन्द्र श्रेष्ठले भन्दा तिमल्सिनाले नै उनकै ट्रकका माध्यमबाट दिन दुगुणा रात चौगुणाका दरले सुन तस्करी समेत गरेर अकूत कमाए । यतिसम्म शिखरमा पुगेछ कि तिमल्सिनाले श्रेष्ठका ८ वटा ट्रक नै खरिद गर्न सफल भएका थिए ।

त्यसैगरी, तत्कालीन अर्थमन्त्री डा. महतका नाताले भान्जा पर्ने अरुण थापाका माध्यमबाट रसुवामा क्यारिङका माध्यमबाट आर्थिक चलखेल गर्न सफल ब्यवसायी हुन्, बुद्धराज बस्नेत । कांग्रेसबाट माओवादी हुँदै पुनः कांग्रेसमा फर्र्किएका बस्नेत अहिले फेरि अर्थमन्त्री बर्षमान पुनसँग निकट बन्नका निम्ति आफू हिजो कांग्रेसबाट माओवादीमा प्रवेश गरेको बताउँदैआएका छन् ।

उनले यसरी बताउनुका पछाडि क्यारिङवाला मारवाडी समुदायले क्यारिङको धन्दा आफूलाई दिने कुराको निरन्तरताका लागि पनि हो । तर सिन्धु माओवादी नेतृत्वले भने उनको राजनीतिक बिचलनका बारे अर्थमन्त्री पुनलाई जानकारी गराइसकेको स्रोतले बतायो ।

आफूलाई पौडीको प्रशिक्षकका रुपमा चिनाउने तर भित्री रुपमा तातोपानी र रसुवा नाकाको डनका रुपमा काम गर्दैआएका ब्यापारी हुन्, उमेश प्रधान । ब्यापारीक बजारमा राजस्व अनुसधान, भन्सार विभाग तथा कांग्रेस र माओवादीको उपल्लो तहमा पहुँच रहेको बताएर ब्यापार गर्दैआएका प्रधान स्वयं पनि भन्सार सेटिङ गरी सामान भित्र्याउने ब्यापारीका रुपमा चिनिन्छन् ।

चस्मा, गार्मेन्ट तथा सेनिटरी प्याडको क्यारिङ गर्र्दैआएका ब्यापारी हुन् अमृत कार्की । कार्कीले पनि सुवास तिमल्सिना, उमेश प्रधान, बुद्धराज बस्नेतले झैं आफ्नो पहुँच राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतका निकायसहित माओवादीको उच्च तहमा समेत रहेको बताएर क्यारिङ गर्दैआएका छन् ।

यसरी एकातिर माओवादी पार्टीका उपल्लो तहका सम्पूर्ण नेताहरु सुन प्रकरणमा मुछिने र अर्कातिर ब्यापारीलाई राजस्व चुहावटमा समेत मद्दत गर्दा अर्थतन्त्र लयमा कसरी आउला र प्रचण्ड सरकार कसरी सफल होला ? भन्ने प्रश्न जबर्जस्त रुपमा सतहमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्