Logo
Logo

महरालाई उन्मुक्ति दिन गृहमन्त्रीकै सक्रियता



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कानुनी रुपमा दोषी नदेखिने गरी उन्मुक्ति दिन खोजिएको छ ।

महराको ‘कमजोर स्वास्थ्य’ अवस्थालाई देखाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दोस्रोपटक अनुसन्धानका लागि समय नै नलिई सरकारी वकिल कार्यालयबाटै थुना मुक्त गरेर कानुनी रुपमा उन्मुक्ति दिन खोजिएको हो । गृहमन्त्री रवि लामिछाने महरालाई स्वास्थ्यको कारणले छोड्नु परेको बताएर उन्मुक्ति दिएको स्पष्ट पारेका छन् ।

अनुसन्धान अधिकृतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मिल्ने अवस्थामा छाड्न सक्ने मुलुकी फौजदारी संहिताको आधारलाई टेकेर सरकारी वकिलको रोहबरमा सिआइबीले पक्राउ परेको पाँच दिनमै हाजिर जमानीमा शुक्रबार हिरासतमुक्त गरेको छ ।

उनलाई पाँच दिन अघि भारततर्फ भाग्न लागेको भन्दै रोल्पा हिडेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरिएको थियो । पक्राउ गृहमन्त्री लामिछाने आफैले तदारुकता देखाए तर पाँच दिन पनि टिकाएनन । पछि उनी आफैले राज्यको पनि भावाना हुन्छ भनेर अभिव्यक्ति दिए ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोजमा गठित आयोगले तस्करीमा माओवादी नेताहरूको ‘कनेक्सन’ रहेको र महरालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो ।

सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतले पनि उपचार जरुरी भएको आदेश आएको र हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्नसकिने कानुनी प्रावधानलाई टेकेर हाजिर जमानीमा छाडेको बताए । माओवादीका उपाध्यक्ष महरा पक्राउ परेपछि यसलाई ठूलै उपलब्धि ठानेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यो विषयमा आफ्नो धारणा भने सार्वजनिक गरेका छैनन् ।

२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र गत साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले उच्च अदालतका न्यायधीश आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो ।

गत साउनमा हङकङबाट बे्रक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको थियो ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड– ०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी ई–सिगरेट (भेप) भित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएका थिए । विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्था उक्त भेप गायब पारिएको थियो ।

त्यही भेपमार्फत ल्याएको सुनलाई छाड्न महरा र उनका छोरा राहुल महराले ताकेता गरेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । सोही प्रतिवेदनलाई आधार मान्दै यसअघि सिआइबीले राहुल महरा पक्राउ गर्दा बाबु कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो ।

त्यसक्रममा उनले चिनियाँ नागरिकले सुन ल्याएको भन्ने जानकारी नभएको र तस्करीको सुन छाड्न कुनै पनि प्रकारको दबाब नदिएको भन्दै सिआइबीको बयानमा अस्वीकार गरेका थिए । अहिले पनि सोही प्रकारको बयान दिएको सिआइबीले जनाएको छ । ‘टेलिफोन सम्पर्क मात्रै देखिएको छ, त्यो भन्दा अरु प्रमाण भेटिएको छैन’, सिआइबीको अनुसन्धानमा संलग्न एक अधिकृतले दृष्टिसँग भने ।

महराले सिआइबीसँगको बयानमा आफूलाई टिबी, युरिक एसिड र प्रोस्टेटको विरामी भएकाले नियमित औषधि सेवन गरिरहेको उल्लेख गरेका छन् । उपचारका लागि भन्दै महरा नर्भिक अस्पताल भर्ना भएका थिए महरालाई अस्पतालबाटै सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको थियो । सिआइबीले उनको दुई दिन बयान लिएको थियो ।

उनको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरेपछि विरामी रहेको बताएका थिए । उनले बयानको क्रममा चिनियाँ दावाजिन वाङसँग चिनजान रहेको त र आफूले कहिल्यै पनि तस्करीको बारेमा कुराकानी नगरेको पनि दावी गरेका थिए । यो कुरा यसअघि सिआइबी र सुन आयोगलाई दिएको बयानमा समेत उल्लेख गरेका थिए ।

बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन् । हाइड्रोपावर परियोजनाका कर्मचारीका लागि ल्याएको भेप जफत भएको भन्दै वाङले खबर गरेपछि आफूले तत्कालीन भन्सार प्रमुख प्रशासकलाई फोन गरेर बुझेको उनले बताएका थिए् ।

‘कानुनबमोजिम के गर्न मिल्छ, हेरिदिनुहोला भनेर मात्र भनेको हो’, उनले भनेका छन्, ‘वाङसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गथ्र्यो, सुनबारे निजसँग कुरै कुराकानी भएको थिएन’, महराले अहिलेको बयानमा भनेका छन् । जुन कुरा यसअघिको बयानमा पनि उल्लेख गरेका थिए ।

सिआइबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ । सिआइबी प्रतिवेदनमा महराका बाबुछोरा, भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित राखिएको छ ।

महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर भेप ल्याउने लि आफ्नो व्यापारिक साथीको भएको र सके भेप छाडिदिन नभए लिलामीमा राखिदिन आग्रह गरेका थिए । महरा बाबुछोराले लीले बुढी गण्डकी जलविद्युत् आयोजनामा काम गर्ने मजुदरका लागि भेप ल्याएकाले छाडिदिन दबाब दिएका थिए । सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल हेर्दा सुन तस्करसँग महरा बाबुछोराको कनेक्सन देखिएको र उनीहरूले भन्सार प्रमुखलाई दबाब दिएको खुल्न आएको थियो ।

राहुल महराले भन्सार कार्यालयका कर्मचारीलाई फोन गरी सके भेप छाडिदिन, नसके लिलामीमा राखिदिन भनेको बयान सिआइबीलाई दिएका थिए । उनले ली चिनेजानेका मानिस भएका कारण भन्सारका कर्मचारीलाई छाडिदिन फोन गरेको तर उनको धन्दा के थियो भन्नेबारे आफू जानकार नभएको बताएका थिए । भेप प्रकरणमा चिनियाँ नागरिक दाओजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेका थिए । भेपमा शंका लागेपछि विमानस्थल भन्सारले बरामद गरी लीलाई छाडेको थियो । भन्सारले छाडेपछि भेप छुटाउन लीले महरा बाबुछोरालगायतसँग सम्पर्क गरेका थिए ।

बरामद भेपभित्रको करिब नौ किलो सुन भन्सार कार्यालयको स्टोरमा कार्यरत नायबसुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र सुरक्षागार्डसमेत मिलेर करिब ६ करोड रूपैयाँमा बिक्री गरेको पनि अनुसन्धानबाट खुल्न आएको थियो । उक्त सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको सिआइबी अनुसन्धानबाट खुलेको थियो ।

उनले विमानस्थल भन्सार कार्यालयका नायबसुब्बा खड्कासँग मिलेर करिब नौ किलो सुन चोरी गरी बेचेका थिए । त्यो सुन चोरेर बेच्नुुअघि नै उनीहरूले महरा बाबुछोरालाई भन्न लगाएर लिलामीमा राख्ने कोसिस गरेका थिए । भेप फिर्ता गर्ने र लिलामीमा राख्ने दुवै प्रयास सफल नभएपछि त्यसभित्रको सुन झिकेर बेचिएको थियो ।

पोखरेलाई कारबाही सिफारिस गरेको सुन तस्करी जाँचबुझ आयोगले कृष्णबहादुर महरालाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन भनेको छ। महराको छोरा राहुल थुनामै छन् ।

प्रतिक्रिया दिनुहोस्