Logo
Logo

एक वर्ष पनि नपुगी रमेश खरेलले किन छाडे रास्वपा ? 



काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन्।

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपामा आबद्ध भएका खरेलले आज (बुधबार)बाट लागू हुनेगरी राजीनामा बुझाएका हुन् ।

खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बन्न नहुने तर्क गरेका थिए । केही समयअघि उनले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिनु नहुने भन्दै आलोचना गरेका थिए ।

लगत्तै यसबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएका छन् । उनले अंग्रेजीमा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ ।

गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् । राजीनामा पत्रमा खरेलले भनेका छन्, ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु, यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन ।’

गत वर्ष चैत्र १८ गते रास्वपामा प्रवेश गरेका खरेल गत उपनिर्वाचनमा सोही पार्टीको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

बारा–२ मा पराजित भएसँगै उनी राजनीतिमा निष्क्रिय बनेका थिए । खरेलले अहिले टेलिभिजन कार्यक्रम चलाउँदै आएका छन् । 

उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंग उठाएका थिए । महरालाई पक्राउ गरेकोमा खरेलले गृहमन्त्रीलाई धन्यवाद दिए । तर, त्यसपछि उनी गृहमन्त्रीमाथि नै खनिएका थिए ।

उनले भनेका थिए– ‘प्रश्न त तपाईँमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईँले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईँबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसीन हुन मिल्दो कुरा पक्कै थिएन । भइहाल्नुभयो, कुरा अर्कै भयो । जुन दिन तपाईँ अनुसन्धानको पवित्र अग्निमा आफैँ होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईँले गर्नुभएका यस्ता कर्मलाई स्यावास भनौंला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर ।’

यो कार्यक्रम प्रसारण हुनुअघि फेसबुक लाइभमा आएर पनि खरेलले लामिछानेको आलोचना गरेका थिए । उनले प्रधानमन्त्रीसहित सरकारका थुप्रै मन्त्रीहरूको नियुक्तिमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहेको बताए ।

त्यसपछि रास्वपाले खरेललाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि खरेलले रास्वापाबाट राजीनामा दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्