Logo
Logo

‘गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन आवश्यक छैन’



काठमाडौं । सत्तारुढ दलका नेताहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्नको लागि संसदीय छानविन समिति बनाउन आवश्यक नभएको बताएका छन् ।

सदनको अवरोध हटाउन आज सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुको बैठक मिलनविन्दुको बिषयमा छलफलका क्रममा यस्तो बताएका हुन् । थप छलफलका लागि भोलि प्रतिनिधिसभा बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले बताए ।

‘भोलिदेखि लगातार चार दिन बैठक बस्छ । समितिमा गएको विधेयकहरुलाई छलफल गर्नको लागि त्यसपछि २७ गते बैठक बस्छ’ उनले भने, ‘त्यसपछि तीन दिन बस्ने कार्यसूची भोलि साढे १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यहाँ थप छलफल गरेर सदन अगाडि बढाउँछौं ।’

कांग्रेसले उठाएको बिषयमा प्रधानमन्त्री जवाफ दिइसकेकाले अझै राजनीतिक पूर्वाग्रहको आधारमा अघि बढेको आशंका उनले व्यक्त गरे । गृहमन्त्री लामिछाने आफैं जवाफ दिन तयार रहेकाले कांग्रेसले धैर्यता राख्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘गृहमन्त्रीको बिषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ । उहाँहरुले उठाएको बिषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ । त्यसमा उहाँहरुले सहजिकरण गर्नुपर्छ ।’

यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बैठकपछि कांग्रेस भोलिको बैठकमा कार्यतालिका अनुसार अघि बढ्न तयार हुने विश्वास व्यक्त गरे । ‘प्रतिपक्ष दलले उठाएको बिषयमा प्रधानमन्त्रीले जवाफ त दिइसकेको छ । तर, अझै उहाँहरुको अडान कामयै छ’ उनले भने, ‘हामीले निश्चित कार्यतालिकाअनुसार अघि बढाउने बिषयमा छलफल गरेका छौं । आज कांग्रेसको सचेतक पनि हुनुहुन्थ्यो हामी राजनीतिक संवाद गर्दै जाने, सदनलाई अवरोध नगर्ने भन्ने बिषयमा छलफल भएको छ ।’

राजनीतिमा मागहरु रणनीतिक हिसाबले अगाडि सारिने भएकाले कांग्रेसको मागको अर्थ नभएको उनले टिप्पणी गरे ।
‘पहिला राजीनामाको कुरा गर्नुभएको थियो । त्यसको अर्थ थिएन । अहिले समितिको कुरा गर्नुभएको छ’ उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुभयो समितिमा कुरा गरिसक्नुभएको छ । गृहमन्त्री जवाफ दिन चाहानुहुन्छ । उहाँहरुको माग आइसकेपछि स्पष्ट पार्ने सरकारको जिम्मेवारी हो ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई गृह मन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै आएको छ । संसदीय समिति नबनाइ सदन अघि बढ्न नदिने कांग्रेसल चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्