Logo
Logo

नक्कली बिल र स्टिकरको अनुगमन गर्नुहोस्ः प्रचण्ड


630
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल र स्टिकरको अनुगमन गर्न निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनले झूठो तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएकाले त्यसकोे गम्भीर अनुगमन गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए । उनले भने, ‘मुलुक समृद्विको बाधकका रूपमा रहेको भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ । जनतामा पैदा गरिएको निराशालाई चिनुपर्दछ । यसका लागि परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौं ।’

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिनेदिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्