Logo
Logo

सशस्त्रको बाहिनीपति कप खेलकुद सम्पन्न, नम्बर १९ बगलामुखी गण प्रथम



काठमाडौं । सशस्त्र प्रहरी बलको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप-२०८०’ का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । 

यही चैत्र १३ गतेदेखि सञ्चालित प्रतियोगितामा दौड, फुटबल, भलिबल र ब्याडमिन्टन खेलहरू समावेश थिए । प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको मातहत गण तथा गुल्महरूको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआइजी) पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा  १५ स्वर्ण, ६ रजत तथा ४ कांस्यसहित  नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ । १० स्वर्ण,  १२ रजत र ८ कांस्यसहित नम्बर १८ गण निलबाराही काठमाडौं दोस्रो हुँदा २ स्वर्ण, १२ रजत र ३ कांस्यसहित नम्बर २१ गण दक्षिणकाली ललितपुर तेस्रो भएको छ ।

त्यस्तै १ स्वर्ण,  १ रजत र ५ कांस्यसहित नम्बर २२ गण गुह्येश्वरी भक्तपुर चौथो, १ रजत र ५ कांस्यसहित नम्बर २४ गण काठमाडौं पाँचौँ र २ रजत र ३ कांस्यसहित नम्बर २० गण विपद् उद्धार काठमाडौं छैटौँ भएको छ ।  प्रतियोगिताका विजयी टिम र खेलाडीहरूलाई डिआइजी थापाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

डिआइजी थापाले यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक कप- २०८० को तयारीमा लाग्न निर्देशन दिए । यस्ता प्रतियोगिताले युनिट तहमा लुकेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने पाउने अवसर मिल्ने पनि उनले बताए । 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी थापाले सशस्त्र प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकुदमा सहभागी जनाउँदै आएको बताए । खेलकुदलाई सशस्त्रले आत्मसात् गरेको बताउँदै उनले भने,  ‘कुनै पनि देश खेलकुदका माध्यमबाट विश्वको विजेता बन्न सक्छ, खेलकुदबाट नै राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सकिन्छ ।’  

‘प्रोफेसनल एक्टिभिटी साइकल’ अवधारणा ल्याई खेलकुदका गतिविधि गर्दा सामूहिक भावना, अनुशासन तथा शारीरिक एवम् मानसिक विकासमा सहयोग पुग्ने डिआइजी थापाले बताए । 

साथै युनिट स्थापना दिवस मनाउने चलन, प्रोफेसनल एक्टिभिटी संचालन जस्ता कार्यले ब्यारेकमा बस्ने फौजी संस्कारमा विकास, भातृत्वको बिस्तार, पेसाप्रति निष्ठावान्, पृथक् मनोरञ्जनको वातावरणको सृजना, व्यक्तिमा सकारात्मक सोचको विकाश र तनाव व्यवस्थापन हुने थापाले बताए ।

यस्तै डिआइजी थापाले सशस्त्र प्रहरीलाई वर्तमान अवस्था, सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग, विपद् व्यवस्थापनमा वर्गीकृत गरी परिचालित गरिएको जानकारी गराए । उनले विपद् व्यवस्थापन तथा सचेतना अभियानमा पशुपतिनाथ बाहिनी सक्रिय भएको पनि बताए । 

विपद् प्रतिकार्य तथा क्षति न्यूनीकरणको तयारी स्वरूप गत फागुनमा  चन्द्रागिरि हिल्ससँगको सहकार्यमा तीन दिने केबलकार आपतकालिन उद्धार अभ्यास- २०८० संचालन गरेको पनि उनले जानकारी गराए । 

सुधारका योजना कार्यान्वयनअन्तर्गत बाहिनी मुख्यालयमा स्वीकृत दरबन्दी संख्याभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू नराख्ने, जुनियर अधिकृत वेशपति हुने वेशहरूमा योग्यताक्रम बमोजिम खटाउने,  क्वीक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत पशुपतिनाथ मन्दिर परिसर मर्मत सम्भार, अशक्ताका लागि ह्विल चियर वितरण, रुद्रमती क्रियापुत्री धाममा ढुङ्गे धारासहित स्नान गृह निर्माण, महिला सशस्त्र प्रहरीका लागि इन्सिनरेटरसहित सेनेटरी प्याड भेन्डिङ मेसिन राख्ने कार्य, मेश सुधार र राइस स्टीमर प्रयोगमा ल्याउनको डिआइजी थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्