Logo
Logo

नेपाली सेनामा सरुवा आतंक



काठमाडौ । प्रधानसेनातपति प्रभुराम शर्माले आफू घर जानु ६ महिना अघि एक पटक नेपाली सेनाका डेढ दर्जन अधिकृतहरुको सरुवा गरेका छन् । सरुवाको दुई वर्ष नपुगी प्रधानसेनातिले उनीहरुको सरुवा गरेका हुन् । सरुवा प्रधानसेनापतिले आफू अनुकुलका अधिकृतलाई ल्याएको स्रोतले जनाएको छ ।

नेपाली सेनाले डेढ दर्जन अधिकृतहरुको सरुवा गरेको छ । सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) र सरुवा गरेको हो । सैनिक स्रोतले दिएको जानकारी अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ ।

मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ । अनुशासनहिन सैनिकहरुलाई पक्राउ गरेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा उनी आइपुगेका हुन् । यसअघि गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए ।

नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ ।

गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला,महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङ्गको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ । नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान,नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ ।

चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक ईण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन् । प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन् । उनी युद्धभैरव गणमा थिए ।

सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । उनीहरु क्रमशः भैरववाहन गुल्म, भैरवदल गण,वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ । नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्