Logo
Logo

गृहमन्त्रीज्यूको पहिलो निर्णय कता हरायो ?



काठमाडौं । चुनावी घोषणा सभालाई सम्बोधन गर्न इलाम पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले बोलेका र तदारुकता देखाएका धेरै कामलाई बिर्सेका छन् । सञ्चारकर्ममा रहँदा होस वा पहिलो पटक गृहमन्त्री हुँदा प्रतिबद्धता गरेको धेरै विषयले उनलाई पछ्याइरहेको भएपनि उनी पछिल्लो पटक राज्य शक्तिमा पुगेपछि त्यसलाई बिर्सेका मात्र होइन, सुन्न पनि चाहदैनन । त्यसमध्यको एउटा विषय हो निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण ।

पहिलो पटक गृहमन्त्री हुँदा लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा खोज्ने पहिलो निर्णय गरेका थिए । २०७९ पुस १० गतेको समीकरणमा गृहमन्त्रालयको कार्यभर सम्हालेका लामिछानले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि यस्तो निर्णय गरेका गरेका हुन् ।

त्यतिबेला मन्त्रालयमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने सम्बन्धमा पहिलो निर्णय गरेको गर्वका जानकारी गराएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । त्यसवेला लामिछाने टेलिभिजनकर्मी थिए । उनले आफ्नो चर्चित टेलिभिजन कार्यक्रममा पटक–पटक यो विषय उठाएका थिए ।

तर अहिले दोस्रो पटक गृहमन्त्री बनेको एक महिना पुग्न लाग्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने विषयमा उच्चारण पनि गरेका छैनन । अपराध अनुसन्धानमा सबैभन्दा बढी र खर्चिलो अनुसन्धानको रुपमा रहेको निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अहिलेसम्म सुल्झिन सकेको छैन । पाँच वर्ष यताका हरेक आइजीपीको घाँटीमा काँडाको रुपमा रहेको सो प्रकरणमा गृहमन्त्री लामिछानेपनि मौन रहेका छन् ।

निर्मला पन्त बलात्कारपछि हत्या भएको विषयमा गृह मन्त्रालयका तत्कालिन सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ ।

गृह मन्त्रालयद्वारा गठित मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए ।

अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृहको छानविन प्रतिवेदन एकातिर छ, सरकार र प्रहरीको ध्यान अर्कैतिर मोडिएको छ ।

गृह मन्त्रालयबाट गठित मैनाली समितिको प्रतिवेदनले निर्मला पन्तको बलात्कार एक जना व्यक्तिबाट सम्भावना कम देखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निश्कर्ष निकालेको थियो । घटना भएको पाँच वर्षसम्म निर्मला पन्तका हत्याराबारे सरकारले यही व्यक्ति हो भनेर किटानी गर्न सकेको छैन । त्यो विषयमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा ४ वटा मानहानीका मुद्दा दर्ता भएका थिए । उनले त्यसको आरोप खेपेर एक दिनको जेल सजाय समेत भोगेका थिए ।

अघिल्लो पटक लामिछाने गृहमन्त्री भएपछि उनकै निर्देशनबमोजिम प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भएको थियो । एक सातामा टोली कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान सुरु ग¥यो । जबकि, उनै नेतृत्वमा त्यसअघि चार महिनासम्म टोली कञ्चनपुर पुगेको थियो । सिंहलाई कञ्चनपुर खटाउदा नेपाल प्रहरीले उनका श्रीमान एसएसपी गणेश चन्दलाई पनि सँगै खटाएको थियो । तर कुनै पनि प्रगति हुन सकेको थिएन ।

पाँच वर्षभन्दा बढी समय बित्दा पनि आफूहरूले न्याय नपाएको पीडित परिवारको गुनासो रहेको अवस्थामा गृहमन्त्रीले यसपटक निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्नेबारे केही बताएका छैनन । बरु उनी आफू कसरी मिडिया आउन सकिन्छ भनेर जल्दो बल्दो विषयम रहेको सुन काण्डको प्रतिवेदन कार्यान्यन गर्ने भन्नेतर्फ लागे ।

त्यसैगरी सुनको अवैध चोरी पैठारी सम्बन्धी अनुसन्धान गर्न बनेको आयोगले दिएको प्रतिवेदनको आधारमा प्रहरीमाथि कारवाही गरेर वाही वाही लिन लागे तर निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा उनको ध्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस्