Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नाफा ३ अर्ब ७२ करोड


1k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापुर्वक सम्पन्न गरेको छ ।

साधारण सभाको अवसरमा बैङ्कले आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएको छ । बैङ्कले २०७९ पौष ७ गते देखि भने साबिक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जर भएको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको गरी कूल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले बढेर आर्थिक वर्ष २०७९/८०को अन्त्यमा बैङ्कको ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको साधारण सभामा सार्वजनिक गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैङ्कको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैङ्कको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ थियो ।

विगत केही वर्ष देखि नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक एक आपसमा गाभिई २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो ।

मर्जर पश्चात् यस बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैङ्कले २७० शाखा, २६७ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मार्फत ३२ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैङ्कले अन्तर्राष्ट्रिय प्रकाशन–युरो मनीबाट ‘बेस्ट बैंक २०२३’ को उपाधि समेत प्राप्त गरेको थियो ।

बैङ्कले सर्वाेच्च अदालतको निर्णयलार्ई पालन गर्दै सञ्चालकहरूको निर्वाचन हाललाई स्थगित गरेको भने साधारण सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेन्डाहरू सभाद्वारा स्वीकृत तथा अनुमोदन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्