Logo
Logo

ग्लोबल आइएमई बैंक र जीआई जेडबीच विद्युतीय यातायातमा लगानी गर्ने सम्झौता


126
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।

जीआई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा ‘मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल परियोजना’ सञ्चालन गरिरहेको छ ।  

उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा बृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउने छ ।   

साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरूको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।  बैंकले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम व्याजदारमा कर्जा प्रवाह गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।  

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्