Logo
Logo

कर्णालीका मुख्‍यमन्त्रीले अन्ततः दिए राजीनामा



सुर्खेत । कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन् । केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए ।

यसअघि विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडानमा मुख्यमन्त्री शर्मा थिए । निरन्तरको केन्द्रको दबाबपछि उनले राजीनामा दिएका हुन् । उनको राजीनामासँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि समय तोकेर आह्‍वान गर्नेछन् । त्यसलगत्तै नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्‍यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्