Logo
Logo

ओखलढुंगाकी शान्ति, जो दुबईमा दुईतले बस चलाउँछिन्



काठमाडौं । ओखलढुंगाको कुवापानीमा जन्मिएकी शान्तिकुमारी भण्डारीले मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालकको कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । सन् २०१५ मा बहिनी ज्वाइँमार्फत भिजिट भिसामा दुबई पुगेर ब्युटिसियनका रूपमा काम गर्न थालेकी शान्ति अहिले दुईतले बस चलाउँछिन् ।

दुबईले आफ्नो सीटीमा पर्यटकलाई घुमाउन दुईतले बसको प्रयोग गर्दै आएको छ । सेतो सर्ट, कालो पाइन्ट कालो चस्मा हुलियामा देखिने उनी उक्त हेभी बस चलाउँछिन् ।

शान्तिले यूएईको लाइसेन्स पाउन सुरुमा एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम गरिन् । उनले सन् २०१७ मा सानो सवारीको लाइसेन्स निकाल्न सफल भइन् र आबुधावीमा अल गजल यातायातको ट्याक्सी चलाउन थालिन् ।

सन् २०१५ मा भिजिट भिसामा दुबई पुगेकी उनी ब्यूटिसियन, ट्याक्सी चालक हुँदै अहिले डबल–डेकर (दुई तले) बस चालक बनेकी हुन् ।

उनले ४ महिनायता उक्त बस चलाउँदै आएकी छन् । उनले मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला भएको खबरले गर्व लागेको सुनाइन् ।

आबुधावीकै सीटी बस चलाउन आवेदन दिए पनि कम्पनीको पोलिसी र स्थानीय नीतिका कारण अवसर पाउन नसकेकी शान्तिले पर्यटक बोक्ने बीग बस कम्पनीमा आवेदन दिएकी थिइन् । त्यसमा भने उनी सफल भइन् ।

महिला भएको कारण सुरुमा डबल डेकर बस चालक स्वीकार गर्न बिग बसले अस्वीकार गरे पनि मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीसको साथ सहयोगले सम्भव भएको उनी सुनाउँछिन् । पर्यटकहरू नेपाली महिला ड्राइभर भनेर हर्षित हुँदै सेल्फी खिच्न लाइन लाग्ने गरेको सुनाउँदै अहिले सबैतिर चर्चा भइरहँदा उनी मख्ख छिन् ।

प्रतिक्रिया दिनुहोस्