काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले शाहीसहित पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारलगायत विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री शाही कर्णाली प्रदेशका बहालवाला प्रदेशसभा सदस्य र पूर्वमुख्यमन्त्री समेत हुन् । उनी पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए ।
उनीहरूले १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ हानीनोक्सानी गरेको अभियोग मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार सोही बराबरको बिगो असुल गर्न माग गरिएको छ ।
यो प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् ।
वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा ,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाहलगायतलाई पनि प्रतिवादी बनाइएको छ।
निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो । उजुरी परे पनि अख्तियारले यस प्रकरणको छानबिनलाई अघि बढाएको थिएन ।
अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो ।














