Logo
Logo

फरक पृष्ठभूमिको होटेल ग्रान्ड भ्यू


1.1k
Shares

काठमाडौं । कोरोना महामारी र आर्थिक मन्दीले संकटमा परेको होटेल व्यवसाय बिस्तारै तङ्ग्रिँदै छ । नयाँ नयाँ होटेल खुल्ने क्रम जारी छ । यही क्रममा काठमाडौँको चाबहिलमा फरक पृष्ठभूमिको ग्राण्ड भ्यू होटेल सञ्चालित छ ।

शान्त वातावरण चाहनेका लागि यो होटेल उपयुक्त हुन्छ । होटेलमा शान्त वातावरणका साथै पारिवारिक माहोल छ । होटलबाट पशुपति र आसपासको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । 

तीन वटा भवनमा ५३ वटा डिलक्स रुम छ । २५ जनाको कन्फ्रेन्स हल पनि छ । मिटिङ हल, प्राइभेट मिटिङ रुम, प्राइभेट डाइनिङ पनि छ । रेस्टुरेन्ट, बार, स्पा, पार्लरको समेत सुविधा छ भने चार्जिङ स्टेसन पनि छ ।

तीनतारे भए पनि पाँचतारेको सुविधा रहेको होटेलका प्रबन्ध निर्देशक सुदर्शन राजोपाध्यायले बताए । उनी सङ्गीत क्षेत्रमा पनि चर्चित छन् । राजोपाध्याय नेपालका ख्यातिप्राप्त सरोद वादक भएकाले म्युजिसियनहरूको जमघट भइरहन्छ । होटेलमा विदेशबाट म्युजिसियनहरू धेरै आउँछन् । ‘शान्त वातावरण चाहिनेहरू दोहो¥याएर आउँछन् ।’ उनी स्मरण गर्छन् । 

होटेलमा स्वीमिङ पुल, लाइभ म्युजिक र लाइबेरी सञ्चालनको तयारीमा रहेको उनले बताए । ‘मेडिटेशन बेस म्युजिक, स्वीमिङ पुल र लाइबेरी सञ्चालनको तयारीमा छौँ’ उनले भने, ‘लेखपढका लागि विदेशबाट पाहुना आउँछन् ।’

पशुपतिनाथको मन्दिरबाट होटेलमा पैदल १०–१५ मिनेटमा पुगिन्छ । त्यसैले धार्मिक पर्यटकका लागि पनि यो होटेल रोजाइमा परेको छ । अनलाइन बुकिङ र ट्राभलमार्फत धेरै अतिथि आउँछन् । 

होटेल पशुपतिनाथ मन्दिरको नजिक भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना उनको छ । एउटा रुमको ७० डलर पर्छ । नेपालीका लागि ४–५ हजार लिने गरेको छ ।  

सरकारले पर्यटनलाई प्राथमिकता दिएको अवस्थामा होटेल व्यवसायको सम्भावना राम्रो छ । तर, राज्यले होटेललाई हेर्ने दृष्टिकोण ठिक नभएको राजोपाध्याय गुनासो गर्छन् । ‘होटेल व्यवसायप्रति राज्यको धारणा राम्रो छैन ।’ उनी भन्छन्, ‘सर्भिस चार्जमा समेत भ्याट लिन्छ । कर्मचारीको तलब त्यसै कम सर्भिस चार्जमा समेत दोहोरो कर लिँदा समस्या छ ।’

होटेल ग्रान्ड भ्यूमा आवद्ध हुनुअघि उनले हयात रिजेन्सी होटेल र होटेल हिमालयमा सेवा गरेका थिए । उस्ताद एस राजको नामले परिचित उनले दुई दशकभन्दा बढी समयदेखि परम्परागत वाद्य सरोदमा प्रस्तुति दिइरहेका छन् । साङ्गीतिक यात्राको सिलसिलामा दिल्ली, कोलकातालगायत भारतका विभिन्न सहरमा उनी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्