Logo
Logo

कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, माओवादीले केही दिनमा निर्णय गर्ने



विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । एमालेले त्यसका लागि प्रदेशसभाका ३९ जना सदस्यको हस्ताक्षर संकलन गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीका अनुसार मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन आजभोलि नै फिर्ता लिइने तयारी भएको छ ।

गत असोज २७ गते संविधानको धारा १६८ (५) अन्तरगत मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई एमालेका ३९ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा शशरीर उपस्थित भएर सनाखतसमेत गरेका थिए ।

तर, केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकार परिवर्तनमा एमाले लागेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय भने दलहरुले निर्णय गरेका छैनन् ।
केन्द्रीय सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूले अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।

एक दुई दिनभित्रमै हस्ताक्षर गरी मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी केन्द्र कोशी प्रदेशले जनाएको छ । केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले बताएका छन् । मुख्यमन्त्री कार्कीलाई अहिले एमाले, माओवादी केन्द्रलगायतको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्