Logo
Logo

‘रात्रि बजार’ सञ्चालन गर्दै वीरगञ्ज महानगर



काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले यो वर्ष पनि ‘रात्रि बजार’ सञ्चालन गर्ने भएको छ । नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर वीरगञ्ज महानगरले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा सञ्चालन हुन लागेको रात्रि बजारका लागि अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

उनका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । भारतका पर्यटकलाई लक्ष्य गरेर वीरगञ्जका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ ।

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्