बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा आधारित न्युट्रिसन तथा आहारको मनोविज्ञान विषयमा सेमिनार सञ्चालन भएको छ । काठमाडौं, ललितपुर र कीर्तिपुर पूर्व प्राथमिक विद्यालयका शिक्षक तथा लिडरहरूलाई लक्षित गर्दै होटेल टिब्बेट इन्टरन्यासनल बौद्धमा सेमिनार सञ्चालन गरिएको थियो ।

असोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल अपेन ललितपुर तथा अपेन काठमाडौंको आयोजना, जेभियर्स इन्टरनेसनल स्कुलको प्रायोजन र आर.ए इभेन्टको सहकार्यमा सेमिनार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ता द्वय मनोविद् उमङ्ग जङ्ग शाहले साना बालबालिकाहरूले राम्रो पोषण नपाएको अवस्थामा उच्च जोखिममा पर्ने बताएका छन् । उनले बाल्यावस्था मस्तिष्क विकासको मुख्य समय भएकोले संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक रहेको उल्लेख गरे ।
शाहले भने, ‘सुनौलो हजार दिनका बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ । यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् विषयको जानकारी शिक्षक तथा अभिभावकहरूमा पुग्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।’ उनले बालबालिकाको पोषणमा खेलबाड नगर्न अभिभावकहरूलाई सुझाव दिए ।
यस्तै न्युट्रिसनिस्ट कविता दाहालले दुई वर्षसम्ममा बालबालिकाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भन्दै यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्न नहुनेमा जोड दिए ।
शाह र दाहालले खान नमान्ने बालबालिकाको समस्या, असन्तुलित भोजनका असर, सन्तुलित भोनका फाइदा, शारिरिक तथा मानसिक विकास लगायतका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन निमित्त अपेन ललितपुरका अध्यक्ष तथा किड्जी सानेपाका प्रिन्सिपल मुना श्रेष्ठ र अपेन काठमाडौंका अध्यक्ष तथा स्प्रिङ् भिल प्रिस्कुलका प्रिन्सिपल तिलक मानन्धरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।














