Logo
Logo

विवादमा रेडियो मदनपोखरा



पाल्पा । सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सव कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेलाई अपमान गरिएकोमा सर्वत्र आलोचना भएको छ । अतिथि भनेर निम्ता गरिएपछि अतिथिको सम्मान गर्नु आयोजकको धर्म हो । तर रेडियो मदन पोखरा एमालेमय भएका कारण अरुमाथि पूर्वाग्रह राखिएको हो । जबकि उक्त रेडियो स्थापनामा पूर्वमन्त्री पाण्डेको समेत योगदान रहेको छ ।

संघीय सञ्चारमन्त्री रेखा शर्मा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा पूर्वमन्त्री एवं संविधानसभा सदस्य पाण्डेलाई बोल्नसमेत नदिई गरिएको अमर्यादित व्यवहारप्रति नेकपा (एकीकृत समाजवादी) पाल्पाको बैठकले समीक्षा गर्दै रेडियोको उक्त कदमप्रति खेद व्यक्त गरेको छ ।

सामुदायिक रेडियो सबैको साझा संस्था भएकाले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी अगाडि बढ्नुपर्नेमा हिजो गरिएको व्यवहारमा राजनीतिक प्रतिशोध स्पष्ट देखिएको छ । संघीय सञ्चारमन्त्री र पाल्पा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरुले समेत यस्तो व्यवहारको आलोचना गरेका छन् ।

तानसेन नगरपालिका वडा नं ९ का वडाध्यक्ष राजेश अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधिहरुलाई मर्यादापूर्वक तथा सम्मानजनक व्यवहार नभएकोप्रति तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलगायत प्रत्यक्षदर्शीहरुले आश्चर्य व्यक्त गरेका छन् ।

नेकपा (एमाले) को तर्फबाट पाल्पा जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट निर्वाचित संंघीय सांसदहरु र जिल्ला विकास समितिका पूर्वसभापति झपेन्द्र जिसीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा भएको यस्तो व्यवहार कतै एमालेकै कार्यकर्ताहरुको योजना र निर्देशनमा भएको त होइन ? आम नागरिकहरुमा प्रश्न खडा हुन गएको छ ।

यसैगरी पाल्पाका सबै एमाले सांसदहरुलाई बोलाएको तर आफूलाई काग्रेस भएकै कारण खबर समेत नगरिएको प्रदेश सांसद वीरबहादुर रानाले प्रतिक्रिया दिँदै दृष्टिसँग भने– ‘अब यो रेडियोको सञ्चालन व्यवस्थापनबारे स्थानीय सरकारले चासो राख्नुपर्ने देखिन्छ । पहिले मदनपोखरा गाविस मातहत रहेको यो संस्था संघीयतापछि केही व्यक्तिको हालीमुहालीमा सञ्चालन भएको छ । संस्थाको साधारणसभामा आजीवन सदस्यहरुलाई कहिल्यै आमन्त्रित गरिँदैन । आफूखुसी निर्णय गरेर आफ्ना समर्थकहरुलाई माइन्युटमा हस्ताक्षर गराएर निर्णय सदर गराउने चलन छ । यो रेडियोमा लोकतान्त्रिक वातावरण र पारदर्शिता छैन ।”

एक अर्का आजीवन सदस्यले गुनासो पोख्दै दृष्टिसँग भने– ‘सदस्यताको लागि १ हजार रुपैयाँ उहिल्यै दिएको हुँ, त्यसको न रसिद पाए्ँ, न त प्रमाणपत्र नै ।’

उद्घाटन समारोहमा प्रदेश सांसद इन्द्रा गहतराज उपस्थित भएर पनि शुभकामना दिनबाट बञ्चित भइन् भने प्रदेश सांसद् राजुप्रसाद श्रेष्ठ उद्घाटनमा थपडी बजाउनमै सीमित भए ।

प्रतिक्रिया दिनुहोस्