पाल्पा । सामुदायिक रेडियो मदन पोखराको रजत महोत्सवको विषयलाई लिएर नेपाली कांग्रेस पाल्पाका नेताहरूले आपत्ति जनाएका छन् ।
शुक्रवार रेडियोले स्थापनाको २५औँ वार्षिकोत्सवमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आथित्यतामा रजत महोत्सव मनाएको थियो ।

एमाले सांसदहरूलाई रजत महोत्सवमा निमन्त्रणा दिएको तर आफूलाई कांग्रेस भएकै कारण खबरसमेत नगरिएको भन्दै पाल्पाका कांग्रेस नेताहरू आक्रोशित बनेका हुन् ।
प्रदेश सांसद वीरबहादुर रानाले रेडियो मदन पोखराको सञ्चालन व्यवस्थापन बारे स्थानीय सरकारले चासो राख्नुपर्ने बताए । ‘पहिले रेडियो मदन पोखरा गाविस मातहतमा थियो’, उनले भने, ‘सङ्घीयतापछि यो संस्था केही व्यक्तिको हालीमुहालीमा लनयमार्फत हाल सञ्चालित छ ।’
रानाले संस्थाको निर्णायक साधारणसभामा आजीवन सदस्यहरूलाई कहिल्यै पनि आमन्त्रित नगरिनु अत्यन्त दुखद विषय भएको बताएका छन् । उनले आफूखुसी निर्णय गरेर आफ्ना समर्थकहरूलाई माइन्युटमा हस्ताक्षर गराएर निर्णय सदर गराउने चलन रहेको दाबी गरे । रेडियो मदन पोखरामा लोकतान्त्रिक वातावरण र पारदर्शिता नभएको उनले बताए ।
अर्का एकजना आजीवन सदस्यले भने, ‘सदस्यताको लागि एक हजार रुपैयाँ उहिल्यै दिएको हो, न रसिद पाएको छु, न प्रमाणपत्र ।’














