Logo
Logo

हतियार देखाएर साढे १५ लाख लुटपाट


441
Shares

लहान । सिराहाको विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजारमा रहेको मनी ट्रान्सफरका लागि जिल्ला सदरमुकाममा रहेको ग्लोबल आइएमई बैंकबाट ल्याएको साढे १५ लाख रुपैयाँ हतियारधारी समूहले लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर सिराहा चोहर्वा सडकखण्डको महिसोथा जाने बाटोनजिकबाट आइतबार बिहान करिब ११ बजेतिर दुईजनाको हतियारधारी समूहले १५ लाख ५० हजार रुपयाँ लुटेको प्रहरीले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाका अनुसार बैंकबाट झिकेको रकम झोलामा राखेर स.९प ६३१० नम्बरको मोटरसाइकलमा विष्णुपुरतर्फ आउँदै गरेका पुरुषोत्तम यादवलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेका दुईजनाले हतियार देखाएर लुटपाट गरेका हुन् ।

लुटेरा समूहले नगद १५ लाख ५० हजार रुपैयाँसहित ग्लोबल आइएमई बैंकको २ र राष्ट्रिय वाणिज्य बैंकको ३ थान खाली चेक तथा मोबाइलसमेत लुटेर लगेको उनले बताए । विष्णुपुर–१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरका लागि ल्याउँदै गरेको रकम लुटेर नकाव लगाएका लुटेराहरू महिसोथातर्फ भागेको यादवलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको विषयमा थप विवरणहरू संकलन भइरहेको छ । लुटेराहरू फरार हुन सक्ने सम्भावित नाकाहरूमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्