काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले काग्रेसको अडान कायम रहेको भन्दै भोलि संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए । उनले भने, ‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि ९ बजे संसदीय दलको बैठक बस्छ । हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत छ ।’

कांग्रेसले सहकारी ठगीमा मुछिएका मन्त्रीहरुको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको उनले बताए ।
उनले भने, ‘कि नेपालमा दुईवटा सरकार छ भन्नुपर्यो । हामीले एउटा सरकारको कुरा सुनिसक्यौं । प्रधानमन्त्रीजीले भनिसक्नुभयो । प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौँ । हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरु कसैको कुरा सन्दैनौँ ।’
संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ । संसदीय दलको बैठकले संसद्मा आएका महत्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने उनले बताए ।
भोलि मंगलबार संसदको बैठक बस्दैछ । कांग्रेसले यसअघिको प्रतिनिधिसभा बैठकबाटै अब बस्ने संसद बैठकमा समिति गठनसहित उपस्थित हुन अल्टिमेटन दिएको थियो । नत्र संसद चल्ने नदिने कांग्रेसले चेतावनी दिएको थियो ।














