Logo
Logo

सम्पादकीय : भाषणले भाग्दैन ‘कोरोना’


शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

आज चैत १८ गते मंगलबार पनि दृष्टि साप्ताहिकको नियमित अंक प्रकाशित हुन सकेन । यसबाट हाम्रा पाठक वर्गमा परेको असुविधाप्रति क्षमायाचना गर्दछौँ । गत मंगलबारदेखि देश ‘लकडाउन’ भएपछि हामी हाम्रा पाठकमाझ दृष्टि अनलाइनमार्फत उपस्थित भएका छौँ । दृष्टिका नियमित पाठकहरु दृष्टि अनलाइनसँग जोडिएकामा हामी हर्षित छौँ । अनलाइनमार्फत नियमित सुचना र विचार सम्प्रेषण गरिरहने प्रतिवद्धता पनि दोह-याउँछौँ ।
विश्व नै यतिबेला कोरोना भाइरसको कारण आक्रान्त बनेको छ । अमेरिका, युरोप, अष्ट्रेलिया, भारतलगायतका देशहरु कोरोनाको चेपटामा परेका छन् । छिमेकी भारत बढी सजग बनेको छ । धन्न नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले एक जनाको पनि मृत्यु भएको खबर सुन्न परेको छैन । कोरोना संक्रमित पाँच जना विमारीमध्ये एकजना उपचारपछि घर फर्किएका छन् । चार जनाको हाल अस्पतालमा उपचार भइरहेको छ ।
भारततर्फ खुला सीमा भएका कारण दैनिक सयौँ नेपाली श्रमिक घर फर्किरहेका छन् । उत्तर प्रदेश सरकारले पनि सीमासम्म फर्कँन यातायातको व्यवस्था गरेको छ । सीमा आइपुगेका नेपालीहरु अलपत्र परेका छन् । उनीहरुलाई नेपाली भूमिमा ल्याएर व्यवस्थापन गर्न सरकार चुकेको छ ।
राष्ट्रिय संकटको बेला राहत खोज्दै स्वदेश फर्किएका नेपालीहरुको उद्वार गर्न सरकारले देखाएको उदासिनताले सरकारको चौतर्फी आलोचना भएको छ । सीमामा अलपत्र नेपालीहरुको समयमै उद्वार गरेर नेपालको सीमा क्षेत्रभित्रै उनीहरुलाई ‘क्वारेन्टाइन’मा राख्न ढिला गरिन हुन्न । किनभने, सीमा क्षेत्रमा रोकिएका एक दुई जनामा मात्र कोरोना संक्रमित भेटियो भने त्यसको उपचार कहाँ लगेर गर्ने भन्ने समस्या उत्पन्न हुन्छ । त्यसैले सरकारको पहिलो दायित्व आफ्नो नागरिकलाई उद्वार गर्नु हो । दोस्रो, दायित्व उनीहरुको उचित उपचार गर्नु हो । आफ्नो माटोमा पाइला टेकिसकेपछि उनीहरुको बाँच्ने हक हुन्छ ।
संविधानमा मात्र मौलिक हकको व्यवस्था गरेर हुँदैन । संविधानले ग्यारेन्टी गरेका मौलिक हक नेपाली नागरिकले उपभोग गर्ने बेला यही हो । यस्तो कुरामा सरकार चुक्नु हुँदैन । विश्वका हरेक देशले आफ्नो नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । यो महामारीको बेला नेपाल सरकारले पनि आफ्नो नागरिकको सुरक्षामा ध्यान दिनुपर्छ ।
तर दुर्भाग्य, कोरोनाको लक्षण देखिएका बुटवलका बाबुराम थापाको उपचार नपाई अस्पतालमै मृत्यु भयो । उनको ‘स्वाब’ परीक्षणमा कोरोना नदेखिएको रिर्पोट अस्पतालले दिएपनि अस्पतालको लार्पबाहीका कारण मृत्यु भएको उनको परिवारले बताएका छन् । भोलिका दिनमा बाबुरामले जस्तै अन्य बिमारीले पनि अस्पताल पुगेर मृत्युवरण गर्न नपरोस् भनेर सरकार सचेत बन्नुपर्छ ।
किनभने, अहिले देशैभरी ‘क्वारेन्टाइन’ बनाउन संघ, प्रदेश र स्थानीय सरकार जुटेको छ । ‘क्वारेन्टायन’ भनेको अस्थायी शिविर हो, जहाँ हजारौँको संख्यामा मानिसको बसोबास रहेको हुन्छ । यदि, त्यस्तो ‘क्वारेन्टाइन’मा बसेका मानिसमा कोरोना संक्रमण देखियो भने त्यसको तत्काल उपचारमा सरकार लाग्नुपर्ने हुन्छ । त्यसैले देशैभरीका अस्पताललाई कोरोना उपचार गर्न सक्ने अस्पतालको रुपमा विकसित गरिनु ढिला गरिन हुँदैन ।
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा ढडेलो लागेझैँ सल्कँने हुँदा जो, जहाँ संक्रमित हुन्छ, त्यसलाई त्यही उपचार गरिनुपर्छ । सबै विमारीलाई काठमाडौं ल्याएर उपचार गरिनु सम्भव हुँदैन । त्यसो गरियो भने संक्रमण फैलन थप डर हुन्छ । यो कुरालाई ध्यानमा राखेर जिल्लामा व्यवस्था गरिनुपर्छ ।
अहिलेसम्म नेकपाको सरकारलाई काम गरेर देखाउने मौका छ । त्यसैले काम बढी भाषण कम गरौँ । भाषणले ‘कोरोना’ भाग्दैन । सबैमा चेतना भया ।

प्रतिक्रिया दिनुहोस्