Logo
Logo

उद्योगमा सरुवाको रुवावासी



काठमाडौं । एक दर्जन विशिष्ट श्रेणीका कर्मचारी सरुवा हुँदा सर्वाधिक चर्चामा रहेका उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सर्वाधिक चर्चामा रहे । सचिव सरुवाको समाचारमा एक नम्बरमा निरौलाकै नाम आउने गरेको थियो ।

उद्योगमन्त्री दामोदर भण्डारी र सचिव कृष्णबहादुर राउत

स्रोतका अनुसार उनले सरुवा संचारमाध्यममै सीमित भएको, आफूले गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै भेटेर थमौतीको आश्वासन पाइसकेको बताउने गरेका थिए । सोमबार सचिव सरुवा भएको सार्वजनिक हुनुपूर्व फेसबुकमार्फत् तस्वीर सार्वजनिक गरेपछि धेरैले अनुमान गरेका थिए, निरौला उद्योगबाट बिदा हुने तयारीमा छन् । सो दिन पनि मन्त्रालयको कार्यकक्षमा भेटघाटमा बिताएका सचिव निरौलाले नियमित कार्यक्रम रद्द गर्न आवश्यक ठानेनन् । भेटघाट गर्न आउने सबैलाई समय दिए पनि सदाजसो उत्साहित नदेखिएको मन्त्रालयमा जानेहरुमध्येका एक कांग्रेसी जिल्लातहका नेताले बताए ।

एकाएक सोमबार ५ बजेतिर उपराष्ट्रपति कार्यालयमा सरुवा भएको समाचार सार्वजनिक भएपछि निरौला स्तब्ध बनेका थिए । सरुवा हुनुनपर्ने, भए पनि प्रधानमन्त्री कार्यालय, निर्वाचन आयोगसम्महुने कुरामा उनी ढुक्क थिए । तर सचिवमध्येका सबैभन्दा कम महत्व भएको उपराष्ट्रपति कार्यालयमा धकेलिएपछि निरौला मंगलबार उद्योग मन्त्रालयबाट बिदा भएका छन् ।

उनीसँगै बाणिज्यतर्फका सचिव नारायण शर्मा दुवाडी पनि प्रधानमन्त्री कार्यालयमा हाजिर गर्न पुगेका छन् । दुवै सचिव सरुवासँगै बिदा भएपछि मन्त्रालयका सहसचिव र कर्मचारीहरुको फूर्तिफार्ती घटेको छ ।

सचिव निरौला निकट सहसचिवहरु छवि रिजाल, रामचन्द्र तिवारी, जीवलाल भूसाल र गजेन्द्र ठाकुरलाई मन्त्री भण्डारी केही दिनभित्रै बिदा गर्ने तयारीमा छन् । सचिव बिदाइ कार्यक्रममा उपस्थित भएका मन्त्री भण्डारीले नयाँ गठबन्धनको सरकार भएका कारण सचिव सरुवा अनौठो बिषय नभएको भन्दै सामान्यीकरणमात्र गरेनन्, एमालेनिकट कर्मचारीबाहेकलाई अन्य कार्यालय रोज्न संकेत गरिसकेका छन् ।

मन्त्री भण्डारीले उद्योग मन्त्रालय सम्हालेपछि निरौला यति निरीह बनाइए कि उनका निजी सचिव सुरज तिमल्सिनालाई उनलाई पत्तो समेत नदिई कम्पनी रजिष्टार कार्यालयमा सरुवा गरियो । मन्त्रालयका महत्वपूर्ण छलफलमा सचिवलाई माइनस गरी आफूनिकट सहसचिवहरु चन्द्रकला पौडेल, बाबुराम गौतम र लीलाराम शर्मालाई सहभागी गराएर निर्णय गर्दैआएका थिए ।

सुरुवातदेखि अन्तिमसम्म यही क्रमले निरन्तरता पाइरह्यो । सचिवद्वय निरौला र दुवाडीले निर्णयप्रक्रियामा हस्ताक्षर गर्नेबाहेक छलफलमा भाग लिने अवसर नपाई बिदा भएका छन् । निकै अपमानजनक ढंगबाट मन्त्री भण्डारीले उनीहरुलाई बिदा हुन बाध्य पारेको उद्योग मन्त्रालयकै एक अधिकारी बताउँछन् ।

सचिवद्वयको बहिर्गमनपछि सहसचिव चन्द्रकला पौडेलको तुजुक निकै बढ्न थालेको छ । उनले आफू एमालेनिकट भएको र महत्वपूर्ण र रोजेको जिम्मेवारी पाउने कुरामा दुईमत नरहेको भनेर निकटस्थहरुलाई भन्न थालिसकेकी छन् ।

आफू सिनियर सहसचिव हुँदाहुँदै विगतमा महत्वपूर्ण जिम्मेवारी नपाएको मन्त्रीको कोरटिममा गुनासो राख्दै नेतृत्वसँग निकट भइसकेकी छन् । सचिवलाई बाइपास गर्ने सल्लाह पनि पौडेलले नै दिएको बताइन्छ । मन्त्रालयका कार्यक्रममा जीटुजीका नाममा उनले ब्रम्हलुट गरेको आरोप छ ।

बिचौलिया भेषराज लुइँटेलमार्फत् उनले जीटुजीका कार्यक्रममा सेटिङ गर्ने गरेको उजुरी पनि कतिपय निकायमा परिसकेको छ । लुईटेल प्रायः मन्त्रालयको औद्योगिक पूर्वाधार शाखामा कन्सलटेन्सीका काममा सेटिङ ब्यस्त रहने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्