Logo
Logo

महानिरीक्षक मुकदर्शक



काठमाडौं । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको हस्तक्षेपले थिलथिलो भएको प्रहरी प्रशासन रवि लामिछानेले झन दलदलमा फसाएका छन् । गत शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवाको सूची निकालेपछि यसको पुष्टि भएको छ । जसमा प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि अलमलिएका छन् ।

उनीहरुको सरुवा गर्नुअघि गृहमन्त्री लामिछानेले प्रहरी बढुवामा योग्यतामा आधारित प्रणाली लागू हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई निर्देशन दिए लगत्तै सरुवा भएको ५० दिनपनि नपुगी एसपीहरुको सरुवा भएको छ । प्रहरी कर्मचारीलाई अन्यायपूर्ण तरिकाले सरुवा गर्दा पनि आइजीपी कुँवर मुकदर्शक मात्रै भएका छन् ।

तराईका ६ वटा जिल्ला र एक पहाडी जिल्ला प्रहरी प्रमुखको सरुवा भएको छ । समयावधि नै नपुगी अचानक जिल्ला प्रमुखहरुको सरुवा भएपछि गृहमन्त्री लामिछाने आलोचितमात्र भएका छैनन्, प्रहरी संगठनभित्र पूर्ण रुपले हस्तक्षेप गरेको देखिएको स्रोतको दाबी छ । जबकी प्रहरी संगठनमा कुनै पनि अधिकृतले एक वर्ष युनिट कमाण्ड गर्ने प्रावधान रहेको छ । त्यसलाई समेत लत्याइएको छ ।

गृहमन्त्री लामिछानेको हस्तक्षेपका कारण प्रहरी संगठनको आत्मबल कमजोर भएको र प्रहरी मापदण्डलाई लत्याउँदै संगठन प्रमुखलाई दबाब राख्न खोजेको देखिन्छ ।

गृहमन्त्री लामिछानेको सचिवालय टिमले प्रहरी महानिरीक्षक (आईजीपी) कुँवरलाई २ महिना पनि नपुग्दै जिल्ला प्रहरी प्रमुखहरुलाई फेरबदल गर्न दबाब दिएका थिए । यसमा प्रहरी महानिरीक्षकले पनि अडान लिन नसकेको स्रोतको दाबी छ ।

रविकै एउटा टिमले तयार पारेको सरुवा सूचीमा उनीहरुको पनि नाम रहेको स्रोतको दाबी छ । कुनै पनि प्रहरी अधिकारी कमाण्ड गर्न गएको ५०दिन भएको छैन, उसलाई बिनाकारण फिर्ता गर्ने कुनै पनि अधिकार हुँदैन, प्रहरी कर्मचारी सरुवा मापदण्डले दिँदैन ।

यसअघिको एसपी बढुवा र प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा समेत विवादमा तानिएको छ । डिएसपीमा १ नम्बरमा रहेका प्रदीप क्षेत्रीलाई छाडेर १२ नम्बरकालाई बढुवा गरेपछि गृहमन्त्री लामिछाने र आईजीपी कुँवरको आलोचना भएको थियो । यता प्रहरी प्रधान कार्यालयले ती एसपीहरुलाई कार्यसम्पादका विषयमा उजुरी बढेपछि गृह मन्त्रालयको निर्देशनमा हटाइएको जनाएको भएपनि के के विषयमा उजुरी परेको हो भन्ने जानकारी दिइएको छैन ।

उजुरी गृहमन्त्रालयमा परेको हो कि प्रहरी प्रधानकार्यालयमा परेको हो भन्ने बारेमा पनि केही खुलाइएको छैन । तराईका जिल्लाको मात्रै उजुरी पर्ने अन्य जिल्लामा चुपचाप रहने जुन प्रवृत्ति यसले संगठनमा काम गरिरहेका प्रहरीका आत्मबल कमजोर पार्ने काम मात्रै भएको एक एसपीले बताए ।

बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका एसपीलाई अवधि नपुगी हटाइएको हो । बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको सरुवा भएको हो । उनीहरुमध्ये सर्लाहीका ज्ञवाली र महोत्तरीका राईको अवधि दुई महिना पनि पुगेको थिएन । बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ ।

यस्तै पहाडी जिल्ला नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । कोइराला बढुवाको सूचीबाट बाहिर राखिएका पात्र हुन् । उनी बढुवा हुनुपर्ने स्थानमा १२ नम्बरका विनोद घिमिरेलाई बढुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्